नेपालगन्जः विशिष्टकृत सेवाको लयमा रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनासम्म ७४ हजार बढी बिरामीले ओपीडी सेवा लिइसकेका छन् । दैनिक ६ सय बढी बिरामीलाई विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले विशिष्टिकृत सेवाको लयमा रहेको अस्पतालका निर्देशक डा.गणेश थापा बताउँछन् । योअवधिमा ९ हजार ७१३ जनाले इमरजेन्सी सेवा लिएका छन् ।
१ हजार १४९ जनाको जटिल शल्यक्रिया गरिएको निर्देशक डा.थापाले बताए । मध्यमखाले १३८ र सामान्य खालका ७४५ वटा शल्यक्रिया गरिएको छ । त्यसैगरी १ हजार ९८९ जनालाई सुत्करी सेवा प्रदान गरिएको पनि उनले बताए । तीमध्ये ५५० जना शल्यक्रियामार्फत सुत्केरी भएका छन् । स्वास्थ्य सेवा वीमाबाट ३५ हजार ८५८ जनाले सेवा लिएका छन् । यस्तै प्रयोगशालातर्फ ३७ हजार ११ जनाले सेवा लिएका छन् ।
त्यसमा १६ हजार ८२ जनाले एक्स रे, ११ हजार ३१९ जनाले अल्ट्रासाउण्ड, दुई हजार ७७ जनाले इको, ५ हजार ९०४ जनाले इसीजी, ९३९ जनाले सिटिस्क्यान, ४२८ जनाले एमआरइ, दुई सय ६२ जनाले इन्डोस्कोपी सेवा लिएका छन् ।
अस्पतालले प्रसूति तथा स्त्रीरोग, छाला तथा यौनरोग, बालरोग, दन्तरोग, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, न्यूरोसर्जरी, नाक, कान, घाटी, आँखा उपचार, मनोसामाजिक, मुटुरोग, प्याथोलोजी, रेडियोलोजी, डायलाइसिस, आइसीयू, एनआइसीयू लगायतका विशेषज्ञ सेवाहरु प्रदान गर्दै आएको पनि निर्देशक डा.थापा बताउँछन् ।








