काठमाडौं: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरूको नेतृत्वका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले विभिन्न १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिमा सभापतिका लागि नामहरू प्रस्ताव गरेको हो।
रास्वपाले स्वास्थ्य क्षेत्रसँग समेत जोडिएको महत्त्वपूर्ण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको छ। अन्य समितिहरूको हकमा कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीको नाम तय गरिएको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय भएको छ। संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीको नाम टुंगो लागेको छ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिएको छ । काँग्रेसले भरतबहादुर खड्काको उम्मेदवार बनाएको छ । एमाले र नेकपाको समर्थनमा कांग्रेसले पनि दिए संसदीय समिति सभापतिमा खड्को उम्मेदवारी दर्ता गराएको हो । हाल संघीय संसद्मा प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र २ वटा संयुक्त गरी कुल १६ वटा संसदीय समितिहरू रहेका छन्।







