अन्ततः अस्पताल र स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा

आकस्मिक र अन्तरंगसेवाहरू भने २४ सै घण्टा सुचारु रहने


    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

नेपालगन्ज: अन्ततः सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संयुक्त पेसागत संगठनहरूको चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीहरूलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो ।

यो निर्णय कार्यान्वयनमा आएसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार ओपिडी सेवा बन्द रहनेछन्। यद्यपि, आकस्मिक र अन्तरंगसेवाहरू भने २४ सै घण्टा सुचारु रहने बताइएको छ।

यसका साथै यसअघि नै आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाहरुको व्यवस्थापन भने अस्पतालले मिलाउनु पर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।’

अस्पतालमा आइतबारका लागि पहिले नै तय भइसकेका शल्यक्रिया र अन्य प्रक्रियाहरुको हकमा भने क्रमश: व्यवस्थापन गर्दै जानु पर्ने हुन्छ। अन्य बारमा व्यवस्थापन गर्न नसके यस्ता प्रक्रियाहरु भने आइतबार पनि सेवा दिनु पर्ने हुन्छ,’ उनले भने।

अस्पतालमा दुई दिन ओपिडी बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप बढाएर अगाडि लैजाने तयारी गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहता, सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिहरूबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो लचकता देखाएको हो।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मीहरूको कार्यबोझ र मानसिक तनावलाई मध्यनजर गर्दै समान बिदाको माग राखेको थियो।

 

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech