स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, केहिको काज फिर्ता

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका अधिकृतहरूको सरुवा, पदस्थापन तथा काज फिर्ता सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुखहरू हेरफेर गरेकी हुन्।

मन्त्रालयअन्तर्गतका तीन वटा महाशाखामा नेतृत्व परिवर्तन गरिएको छ। मन्त्रालय भित्रिनेमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा गुणनिधि शर्मा छन् ।  उनीहरुको जिम्मेवारी भन्ने अझै टुंगो लागेको छैन ।

यस्तै मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल, पर्सामा काज फिर्ता गरिएको छ। त्यस्तै, स्वास्थ्य समन्वय महाशाखामा कार्यरत डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य रोग प्रयोगशालामा पठाइएको छ। मन्त्रालयको गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रहनुभएका डा. कृष्णप्रसाद पौडेललाई समेत काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ। यद्यपि, उनी हाल स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेकाले तत्कालका लागि सोही पदमा रही कार्य सम्पादन गर्न निर्देशन दिइएको मन्त्रालयले भनेको छ ।

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech