नेपाल मेडिकल काउन्सिलद्धारा डा.तुषार सरवजनाको लाइसेन्स खारेज

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

नेपालगन्जः डा.तुषार सरवजनाको लाइसेन्स खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले सरवजनाको नाममा रहेको अस्थायी दर्ता (एमबीबीएस) र विशेषज्ञ दर्ता (एमडी, अप्थाल्मोलोजी) दुवै खारेज गरेको हो ।

काउन्सिलका अनुसार स्थायी दर्ताका लागि आवेदन दिएका सरवजनाको कागजात अध्ययन गर्दा उनीसँग भारतको राहदानी (पासपोर्ट) र नेपालको वंशज नागरिकता दुवै रहेको भेटिएको थियो।

उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी नागरिक कोटामा पूर्ण शुल्क तिरेर एमबीबीएस अध्ययन गरेको समेत खुलेको छ।

हेरौं काउन्सिलको निर्णय

विषय: दर्ता खारेज गरिएको सम्बन्धमा।

उपरोक्त सम्बन्धमा नेपाल मेडिकल काउन्सिलको दर्ता समितिको मिति २०८२ चैत्र ६ गतेको बैठकले तपसिल बमोजिमको निर्णय गरेको हुँदा निर्णयानुसार तपाईं तुषार सरवजना (नेमेका दर्ता नं. ३५१४२) को नेपाल मेडिकल काउन्सिलमा रहेको अस्थायी दर्ता (MBBS) र विशेषज्ञ दर्ता (MD, Ophthalmology) को दर्ता खारेज गरिएको जानकारी गराउँदछु।

तपसिल:
“तुषार सरवजना (नेमेका दर्ता नं. ३५१४२) ले स्थायी दर्ताको लागि आवेदन दिएकोमा निजको फाईल अध्ययन गर्दा निज आवेदकको भारत गणराज्यको पासपोर्ट र नेपाली नागरिकता (वंशज) दुबै देखिन आएको छ। निजले Foreign National-Full Tuition Fee अन्तर्गत अध्ययन गर्नु भएको व्यहोरा सहितको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको पत्र समेत रहेको देखिन्छ। यसैसँग सम्बन्धित रही नेपाल मेडिकल काउन्सिलबाट गृह मन्त्रालयमा पत्राचार हुँदा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयको पत्र संलग्न गरि जवाफि पत्राचार गरिएको देखिन्छ।

पत्रानुसार प्रमुख जिल्ला अधिकारीबाट निर्णय भई मिति २०७८/०८/२८ गते नागरिकता प्रमाणपत्र जारी भएको देखिन्छ। हालसम्म पनि National Medical Commission, India को वेभसाईटमा निजको दर्ता विवरण समेत देखिन्छ। त्यस्तै मिति २०८१ असोज १६ गतेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले निजको रोक्का गरेको अस्थायी दर्ता प्रमाणपत्र फुकुवा गरि MD Ophthalmology को विशेषज्ञ दर्ता प्रदान गर्ने निर्णय भए बमोजिम विशेषज्ञ दर्ता भएको समेत देखिन्छ। तर भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहदारहदै तथा भारतीय गणराज्यको पासपोर्टबाट Foreign National अन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता (तुषार सरवजना नेमेका दर्ता नं. ३५१४२) खारेज गर्ने निर्णय भयो।”

डा. सतिस कुमार देव
रजिष्ट्रार

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech