विपन्नको उपचारका लागि ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। ३० दिनभित्र सञ्चालनमा ल्याउने भनिएको तोकिएको समयमभन्दा १० दिन अगावै सञ्चालनमा ल्याइएको हो।

विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले पोर्टल सञ्चालन गरिएको हो। हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस डिजिटल प्रणालीमा समावेश गरिसकेका छन्।

मन्त्रालयले अस्पतालहरूको सेवा गुणस्तर सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरेको छ। यसअन्तर्गत देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीका गुनासो व्यवस्थापनका लागि ‘फोकल पर्सन’ तोकिएको छ।

यसले अस्पतालको प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। यस्तै जलन भएका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न मन्त्रालयले पूर्वाधार विस्तारमा पनि तीव्रता दिएको छ।

यसअन्तर्गत ९ वटा संघीय र १४ वटा प्रादेशिक गरी कुल २३ वटा अस्पतालमा सेवा सञ्चालनका लागि तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो समय प्रविधिमैत्री सेवा र भौतिक पूर्वाधार विस्तारलाई सँगसँगै अगाडि बढाउँदै शासकीय सुधारको क्षेत्रमा उल्लेख्य प्रगति देखाएको छ।

 

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech