गर्भावस्थामा के-के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०८०, शुक्रबार

नेपालगन्ज: गर्भावस्था महिलाका लागि एउटा महत्वपूर्ण समय हो । यो बेला खासगरी गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे ध्यान दिईरहनुपर्छ । शिशुसँगै गर्भावस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यको समेत विशेष ध्यान दिन आवश्यक छ । स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका अन्य सदस्यले समेत विशेष ख्याल राख्नुपर्छ ।

गर्भवती महिलाले गर्भावस्थामा के कस्ता कुरामा ध्यान दिनुपर्छ त ?

गर्भावस्थालाई ख्यालगरी आफूले के गर्ने के नगर्ने भन्ने कुरामा चनाखो हुन आवश्यक हुन्छ। जुन महिलालाई थाइराइड, सुगर, हाइपरटेन्सन जस्ता विभिन्न समस्याहरु छन्, उनीहरुले नियमित चिकित्सकसँग परामर्श लिन र स्वास्थ्य जाँच गर्न आवश्यक हुन्छ।

गर्भवती महिलाले सकेसम्म भारी र जोखिमपूर्ण काम नगरेको राम्रो । यस्तो काम गर्नाले गर्भमा भएको बच्चालाई असर पुग्न सक्छ।

नियमित स्वास्थ्य परीक्षण

बच्चाको योजना बनाउनुअघि र गर्भवती भइसकेपछि पनि महिलाले नियमित रुपमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ । परीक्षणका क्रममा बच्चाको अवस्था के छ भन्ने कुराको जानकारी समेत लिन सकिने हुदा नियमित जाँच अत्यावश्यक हुन्छ । नियमित स्वास्थ्य परीक्षण कम्तीमा पनि ६ पटक गराउनुपर्दछ ।

पहिलो परीक्षण :

पहिलो परीक्षण आफु गर्भवती भएको थाँहा हुनसाथ गराउँनुपर्दछ । बच्चा काहाँ बसेको छ भनेर थाँहा पाउन सुरुमै चिकित्सकसँग परामर्श लिनपर्छ ।

दोस्रो परीक्षण  :

यदि पहिलो परीक्षणमा भ्रुणको धड्कन देखिएको छ भने दोस्रो परीक्षण  १२ हप्तामा गराउँनुपर्दछ । धड्कन देखिएन भने पहिलो भिजिट गरेको दोस्रो  हप्तामा फेरी भिडियो एक्सरे गर्नुपर्दछ ।

तेस्रो परीक्षण :

तेस्रो परीक्षण २० देखि २२ हप्ता अर्थात ५ महिनामा एनोमोली स्क्यानका लागि गराउनुपर्दछ । बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ भनेर जान्न एनोमली स्क्यान गराउँनुपर्छ ।

चौथो परीक्षण :

यदि अन्य कुनै कम्पिलिकेसन देखिएको छैन भने चौथो परीक्षण ३० देखि ३२ हप्तामा गराउनुपर्दछ । यो बेला बच्चाको बृद्धिविकास कसरी भईरहेको हुन्छ भनेर थाँहा पाउँन सकिन्छ ।

पाँचौ परीक्षण:

३८ महिनामा गराउँनुपर्छ । यो बेला बच्चा सुल्टो बसेको छ या उल्टो छ , पानीको अवस्था सबै कुरा हेर्नुपर्ने हुन्छ ।

अन्तिम परीक्षण

यदि सबै कुरा नर्मल छ भने चिकित्सककले दिएको डेट अनुसार अन्तिम पटक परीक्षण गराउनुपर्दछ ।

माथि उल्लेखित परीक्षणका अलावा स्वास्थ्य सम्बन्धी कुनै समस्या र जटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।

गर्भावस्थामा अर्को ध्यान दिनुपर्ने कुरा हो खानपान

यो अवस्थामा खानपानमा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ। विशेषगरी यस्तो अवस्थामा सन्तुलित आहार खानु अत्यन्तै जरुरी हुन्छ। विशेषगरी आइरन, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन जस्ता कुराहरु समावेश गर्नु पर्दछ।

अझ यस्तो बेलामा प्रोटिनयुक्त खानेकुराहरु जस्तै गेडागुडी, बदाम, माछा, मासु, फलफूल, सागपात आदि समावेश गर्न अत्यन्तै लाभदायक हुन्छ। पिरो, अमिलो र पचाउन गाह्रो हुने खानेकुरा भने खानु हुँदैन ।

यस्तै गर्भवती महिला कम्तीमा पनि ६ देखि ८ घण्टा राम्ररी निदाउनुपर्छ । कुनै समस्या भए हेल्चेक्राइँ नगरि तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यो अवस्थामा तनाव, मुड स्विंग्स, चिडचिडापन बढ्ने भएको हुँदा ध्यान र सामान्य योग गर्न उत्कृष्ट हुन्छ। यसका साथै शान्त पारिवारिक वातावरण हुनु पनि उत्तिकै आवश्यक छ।

गर्भावस्थामा प्रतिरोधी क्षमता एकदमै कम हुन्छ । रोगको संक्रमण छिटो हुने सम्भावना रहन्छ । त्यसैले, गर्भवती महिलाले बढी भिडभाड भएको ठाँउ वा रोगीको सम्पर्कमा जानुहुँदैन ।

 

 

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech