ईसीजीबाट मुटुको समस्या कसरी पत्ता लाग्छ ?

    • डा. कमल शर्मा लम्साल/वरिष्ठ मुटुरोग विशेषज्ञ

  • १३ माघ २०८०, शनिबार

इलेक्ट्रो कार्डियोग्राम (ईसीजी) भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई  विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने अत्यन्तै महत्त्वपूर्ण परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ ।

ईसीजीलाई ‘इकेजी’को नामबाट पनि चिनिन्छ ।

कसरी काम गर्छ ?

सबैभन्दा पहिला बिरामीलाई बेडमा सुताइन्छ । त्यसपछि छातीको अगाडिको देब्रे भागमा केही इलेक्ट्रोडको सहायताले केही तार टाँसिन्छ । त्यस्तै हातको नाडी र खुट्टामा पनि त्यसरी तारहरू टाँसिन्छ ।

त्यसले मुटुमा हुने गतिविधिलाई संकेत गरेर ग्राफमा व्यक्त गर्छ । जसबाट मुटुको धड्कनको समस्या, मुटुको कार्यको अवस्था, मुटुको गतिलगायत मुटुको विविध विषयमा समष्टिगत जानकारी प्राप्त हुन्छ ।

कतिको सुरक्षित छ ?

यो पीडारहित र सुरक्षित परीक्षण माध्यम हो । ईसीजी परीक्षण गराउँदा शरीरलाई हानि गर्ने खालको विकिरण आउँदैन । यो परीक्षण सामान्यतया मध्यम–उमेर र वृद्ध बिरामीका लागि प्रयोग गरिन्छ ।

कहाँ गराउने ? कति लाग्छ खर्च ?

मुटुमा समस्या भएको शंका लागेमा नजिकैको अस्पताल वा स्वास्थ केन्द्रमा ईसीजी गराउन सकिन्छ । यो परीक्षण तालिमप्राप्त सामान्य स्वास्थ्यकर्मी (पारामेडिक्स)ले पनि गर्न सक्छन् र विज्ञले रिपोर्ट हेरेर रोगको पहिचान गर्नुपर्ने हुन्छ । ग्रामीण भेग जहाँ परीक्षण उपकरण छ । तर विज्ञ छैनन् भने त्यस्तोमा परीक्षण गराएको रिपोर्ट विज्ञको राय लिन भाइबर, ह्वाट्सअप जस्ता माध्यमबाट पठाउन सकिन्छ ।

त्यस्तै, परीक्षण शुल्क औसतमा तीनदेखि चार सय रुपैयाँ पर्छ । यद्यपि, अस्पतालअनुसार शुल्कमा केही तलमाथि हुनसक्छ ।

यी अवस्थामा चिकित्सकले इसीजी परीक्षणको लागि सिफारिस गर्न सक्छन् ।

-मुटुको चाल बढ्नु वा कम हुनु ।

-सास फेर्न कठिन हुनु, हिंड्दा स्वाँस्वाँ आइराख्नु र पटक-पटक हिंड्न खोज्दा चक्कर लाग्नु ।

-जन्मबाटै मुटु सम्बन्धित समस्या हुनु वा शंका लाग्नु ।

-मुटुको झिल्ली र मांसपेशीमा समस्या भएको पनि ईसीजी परीक्षणले संकेत गर्छ ।

-छाती दुखिरहेको छ भने प्रारम्भिक हृदयघातको जोखिम पहिचान गर्न पनि ईसीजी गराइन्छ ।

-घाँटीको नसा फुलेको छ, खुट्टा सुन्निएको वा मिर्गौला फेल भएको छ भने पनि मुटुमा सम्भावित जोखिम हुनसक्छ । यस्तोमा पनि ईसीजी परीक्षण गराउनुपर्छ ।

-प्रेसर बढेमा मुटुको तल्लो बायाँ कोठा (लेफ्ट भेन्ट्रिकल) सुन्निएको हुनसक्छ । त्यसैले प्रेसर बढेमा पनि ईसीजी परीक्षण गरिन्छ ।

-मुटुको समस्या भएका, मधुमेह, उच्च कोलेस्टेरोल र उच्च रक्तचाप भए चिकित्सकको सल्लाहमा बेलाबखतमा ईसीजी गराउनु उपयुक्त हुन्छ, ताकि मुटुको समस्याको समयमै कम गर्न सकियोस् ।

-परिवारमा कसैलाई पहिला मुटुरोग देखिसकेको छ भने पनि परिवारको सदस्यले वर्षमा एक पटक ईसीजी परीक्षण गराउनुपर्छ ।

-छाती दुखेर बेहोस भई अन्तिम अवस्थामा अस्पतालको इर्मेजेन्सीमा ल्याइएको बिरामीको पनि तत्काल ईसीजी परीक्षण गरिन्छ । ईसीजीबाट मृत्यु भइसकेको वा नभएको पत्ता लाग्छ ।

सीजीपछि के हुन्छ ?

ईसीजी परीक्षणको रिपोर्ट आएपछि चिकित्सकले मुटुको अवस्था हेरेर त्यसको व्याख्या गर्छन् । त्यसमा केही समस्या आएको देखिएमा उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । कहिलेकाहीं थप परीक्षण जस्तै- इको, रगत परीक्षण र एन्जियोग्राम (मुटुको रक्तनलीको चित्रण) गर्नुपर्ने अवस्था हुनसक्छ ।

इतिहास

ईसीजी उपकरण सन् १८८७ मा ब्रिटिश फिजियोलोजिस्ट अगस्टस वालरले आविष्कार गरेका हुन् । उनले त्यतिबेला मुटुको गतिविधि रेकर्ड गर्न इलेक्ट्रोमिटरको प्रयोग गरे । जसमा पहिलोपटक मुटुको गतिविधि विद्युतीय माध्यमबाट पत्ता लागेको थियो । जुन चिकित्सा क्षेत्रमा चमत्कार भन्दा कम थिएन ।

केही वर्षपछि उनले र नोबेल पुरस्कार विजेता विल्लेम आईन्डहोभेनले इलेक्ट्रोमिटरलाई थप सुधार गरेपछि यसलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) नाम दिइयो ।

सन् १९०० को पहिलो दशकमा ईसीजीलाई मुटुको रोग निदानको लागि औपचारिक रुपमा प्रयोग गर्न सुरु गरिएको थियो ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech