नेपालगन्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०८०, बुधबार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट सिफारिस भएका प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको जानकारी दिनुभयो । सो सम्झाैतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गर्नुभयो ।

प्रहरी अस्पतालले सिफारिस गरी पठाएका बिरामीको उपचारमा विभिन्न प्रकारका सेवा सुविधा लिँदा १० देखि १५ प्रतिशत छुट पाउने एक वर्षे सम्झौता गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ ।

लुम्बिनी  प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो ।उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

  • ३ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech