निजामती कर्मचारीका १ सय ४४ सन्तानले पाए चिकित्सा शास्त्र पढन छात्रवृत्ति

    • स्वास्थ्य पेज

  • १९ असार २०८०, मंगलवार

नेपालगन्जः सरकारले निजामती सेवाका कर्मचारीका सन्तानलाई छात्रवृत्ति दिने भएको छ। छात्रवृत्ति लागि ६ सय ८७ निजामती सेवाका कर्मचारीका सन्तान छनोट भएका छन्।

संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।

छात्रवृत्तिका लागि सरकारले १७ करोड ८१ लाख ८६ हजार सम्बन्धित अभिभावक कर्मचारीको खातामा पठाउने छ। स्नातक तहको प्रथम वर्ष अथवा प्रथम वा दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीले यस्तो छात्रवृत्ति पाएका छन्।

मन्त्रालयका अनुसार चिकित्सा शास्त्रतर्फ १ सय ४४, स्वास्थ्य विज्ञानका २९, आयुर्वेदका १, इन्जिनियरिङ २ सय २९, वन विज्ञान ५, कृषि विज्ञान ३६, विज्ञान १२, कानुनका ४५, व्यवस्थापनका १ सय १९, शिक्षाका ४, मानविकीका ११ र सूचना प्रविधिका ५२ जनाले उक्त छात्रवृत्ति पाएका छन्। मन्त्रालयले चिकित्साशास्त्रमा अध्ययन गर्नेहरुका लागि सबैभन्दा धेरै ७ करोड १७ लाख, रुपैयाँ पठाएको छ।

इन्जिनियरिङमा ५ करोड ६९ लाख ७ हजार,व्यवस्थापन संकायमा १ करोड ४२ लाख ८५ हजार, सूचना प्रविधिमा ९८ लाख २२ हजार, कृषि विज्ञानमा ७७ लाख ६७ हजार, विज्ञानमा ११ लाख २० हजार, कानुनमा ७६ लाख, मानविकीमा १४ लाख ६२ हजार, वन विज्ञानमा ५ लाख, शिक्षामा २ लाख ४१ हजार, स्वास्थ्य विज्ञानमा ६४ लाख ८० हजार, आयुर्वेदमा ३ लाख खर्च हुनेछ।

२० लाखभन्दा बढी शुल्क लाग्ने भएमा ५ लाख, १५ देखि २० लाख शुल्क लाग्ने भएमा ४ लाख, १० देखि १५ लाखसम्मका लागि ३ लाख, ५ देखि १० लाखसम्म शुल्क लाग्ने भएमा २ लाख र १ देखि ५ लाखसम्म शुल्क लाग्ने भएमा १ लाख रुपैयाँ छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ।

यसरी छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन सकेपछि सरकारले खटाएको स्थानमा काम गर्नुपर्ने सर्त रहेको छ। संघीय मन्त्रालयले आवश्यक ठानेमा अध्ययन गरेको एक वर्षभित्र कुनै स्थानमा खटाउन सक्ने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech