गर्भवतीले कसरी सुरक्षित यात्रा गर्ने, कस्तो खाना खाने?

    • निजा राजभण्डारी (बाटाजु)/आइभिएफ विशेषज्ञ

  • ८ आश्विन २०७९, शनिबार
दसैँको बेला गर्भवती महिलाहरूले यात्रा गर्दा विशेष ध्यान दिनुपर्छ। गर्भवतीको लागि पहिलो तीन महिना अलि जोखिमको अवस्था हुन्छ। बच्चा भर्खर पाठेघरमा टाँसिएको हुनाले अझै चनाखो हुनुपर्छ।

कुन ठाउँमा जाने, कति समयको लागि जाने, कस्तो सवारी साधनमा यात्रा गर्ने, कति दुरीको यात्रा गर्ने जस्ता कुराहरू महत्वपूर्ण हुन्छन्।

नजिकै जादै हुनुहुन्छ अर्थात २-३ घण्टाको राम्रो पिच बाटो छ भने त्यसमा समस्या हुँदैन। विस्तारै सवारी साधन रोक्दै रोक्दै जान मिल्छ।

अलि टाढा जानुछ भने जहाजबाट गएको राम्रो। हुनत, जहाजको यात्रा गर्दा पनि जोखिम हुन्छ नै। किनकि, अन्तर्राष्ट्रिय उडानमा जस्तो आन्तरिक उडानमा जहाभित्र रक्तचापको सन्तुलन मिलेको हुँदैन। तर गाडीको तुलनामा जहाजको यात्रा धेरै सुरक्षित हुन्छ।

जहाजको सुविधा छैन, बसबाटै जानुपर्छ र बाटो पनि असजिलो छ भने धेरै कुरामा विचार पुर्‍याउनुपर्छ। सकेसम्म आफ्नै गाडी वा रिजर्ब गाडीमा गएको राम्रो हुन्छ। किनकि, भिडमा यात्रा गर्न त्यसै पनि कठिन हुन्छ, त्यसमाथि अफ्ठ्यारो बाटोमा झन गाह्रो हुन्छ। आफूले चाहे अनुसार गाडी चल्दैन। अर्को कुरा, श्वासप्रश्वासको समस्यादेखि संक्रमणको समस्यासमेत हुनसक्छ।

सार्वजनिक गाडीमा समयमा खान पाइँदैन, एउटै सिटमा एकै तरिकाले लामो समयसम्म बस्नुपर्ने बाध्यता हुन्छ। कतिपय ठाउँ जान २४ घन्टाभन्दा बढी समय पनि लाग्छ। त्यस्तो अवस्थामा जहाज अथवा आफू अनुकुलको गाडीमा जानु राम्रो र सुरक्षित हुन्छ।

गाडीमा गएर मात्र हुन्न, घर पुग्नका लागि निश्चित ठाउँबाट ‍हिँड्नुपर्ने हुन्छ। दुर्गममा जाँदा विभिन्न समस्या आउन सक्छन्। त्यसैले मिल्छ भने गर्भवतीले यस्तो लामो यात्रा नगरेकै राम्रो हुन्छ।

गर्भवती महिलाले बाइक र स्कुटरको प्रयोगबारे समेत जिज्ञासा राखेका हुन्छन्। छोटो दुरीमा हो भने मोटरसाइकल र स्कुटरबाट जान सकिन्छ। तर लामो बाटो अनि कच्ची बाटोमा समेत जानु पर्ने हुँदा नगएकै राम्रो हुन्छ। आफैंले चलाउँदा विस्तारै चलाउनुपर्छ।

गर्भको अवस्था हेरेर चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ। यदि सुरूदेखिनै गर्भमा समस्या छ भने यस्तो अवस्थामा अलि बढी ध्यान पुर्‍याउनुपर्छ।

गर्भवतीले के खाने, के नखाने? भनेर समेत जिज्ञासा निकै आउँछन्।

मेवा, भुईँकटहर, पेय पदार्थ, टिमुर र समुन्द्री माछाहरू महिलाले खानु हुँदैन। अरू धेरै कुरा खान सकिन्छ। तर खोलाको माछा खाएमा केही हुँदैन। दसैंमा मासु खाएमा पानीको मात्रा अलि बढाउनुपर्छ। चिल्लो धेरै खाएमा वाकवाक आउने समस्या झन् बढ्न सक्छ। चिल्लो पिरो अमिलो खाने कुरामा ध्यान दिनुपर्छ।

गर्भवतीले धुम्रपान र मध्यपान सेवन गर्नु हुँदैन। सकेसम्म धुम्रपान गर्नेसँग एउटै कोठामा समेत बस्नु हुँदैन। मदिरा सेवन दैनिक गर्नु हुँदैन कहिलेकाहीँ साथीभाइसँग बस्दा साह्रै थोरै खान मिल्छ तर सकेसम्म नखाएकै राम्रो।

गर्भवतीले कस्तो आसनमा सुत्ने भन्ने हुन्छ।

गर्भवतीलाई ६-७ महिना कटेपछि सुत्न धेरै गाह्रो हुन्छ। समय बढ्दै गएपछि पेट ठूलो हुँदै जान्छ। पाठेघर सानो हुन्छ। जसले गर्दा सुत्न असजिलो हुन्छ। त्यसैले सकेसम्म उत्तानो परेर सुत्नु हुँदैन। बायाँतर्फबाट सुत्दा राम्रो हुन्छ। एउटै आशनमा सुत्न गाह्रो हुन्छ। त्यसैले यदि उत्तानो परेर सुत्ने हो भने सिरानीको सपोर्ट लिन सकिन्छ। सबै आशनमा सुत्न मिल्छ, तर बायाँतर्फ सुतेको राम्रो हुन्छ।

  • ८ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech