नेपालगन्ज घुम्दै घर जान्छन् कोरोना संक्रमित

संक्रमण पुष्टि भएर नेपालगन्जमा आएका ती व्यक्तिहरु बजारमा किनमेल र घुमफिर समेत गर्ने गरेका छन् । यसरी नेपालगन्ज घुम्दै कोरोना संक्रमितहरु घर जाने गरेका छन् । जस्का कारण कोरोना भाइरसको संक्रमण गाउँघरसम्म पुग्न थालेको छ।


    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः सल्यान बागचौर नगरपालिका–४ सल्यानका पाँच जना युवा विहीबार विहान जमुनाह नाकामा आइपुगे । जमुनाह नाकामा पुग्ने वित्तिकै हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले उनीहरुको कोरोना भए नभएको एकिन गर्न एन्टिजेन परीक्षण गरे ।

तीमध्ये एकजनामा कोरोना भाइरस संक्रमण पुष्टिभयो । एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका ती युवक एकछिन यताउता गरे । पछि अटो रिक्सा चढेर उनी नेपालगन्ज बजारतिर हान्निए । उनीमात्र होइन नाकाबाट यसरी भित्रिने संक्रमितहरु खुलियाम नेपालगन्ज भित्रिएर सम्बन्धित जिल्लाको बस चढेर घर पुग्ने गरेका छन् ।

न उनीहरुलाई नाकामा होल्ड गरिन्छ न त सुरक्षित तरिकाले आइसोलेसनमा पठाउने गरिन्छ । हेल्थडेस्कका कर्मचारी चिरञ्जीवि ज्ञवालीका अनुसार संक्रमितहरुलाई सम्झाइबुझाइ घर पठाउने गरिएको बताउनुभयो ।

‘भन्दा नि दुःख लाग्छ उहाँले आफ्नो बाध्यता सुनाउँदै भन्नुभयो–‘संक्रमण पुष्टि भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमार्फत घर पठाउँदा कोरोना भाइरस टेस्ट गर्नु नगर्नुको कुनै अर्थ छैन् ।’

भदौ १० गतेसम्म नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्समार्फत संक्रमितहरुलाई आइसोलेसनमा पठाउने गरिएको थियो । तर ११ गतेदेखि आर्थिक कारण देखाउँदै रेडक्रसको एम्वेलन्सले बिरामी बोक्न छाडिसकेको छ । ज्ञवालीले आफुले सबै सम्बद्ध सरोकारवालाहरुलाई जानकारी गराउँदा पनि कतैबाट सुनुवाइ नभएको बताउनुभयो ।

संक्रमण पुष्टि भएर नेपालगन्जमा आएका ती व्यक्तिहरु बजारमा किनमेल र घुमफिर समेत गर्ने गरेका छन् । यसरी नेपालगन्ज घुम्दै कोरोना संक्रमितहरु घर जाने गरेका छन् । जस्का कारण कोरोना भाइरसको संक्रमण गाउँघरसम्म पुग्न थालेको छ। नाकाबाट दैनिक १५ सय देखि २ हजार मानिसहरु भित्रिरहेका छन् । तीमध्ये शंकास्पदहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाकामा दैनिक जस्तो संक्रमित फेला पर्ने गरेका छन् ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech