नेपालगन्जः राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिस भएका डा रामजी राम र डा त्रिशला गुरुङले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट उनीहरुले नाम फिर्ता लिएको बताएका छन् ।
डा रामजी रामले दलित समुदायबाट समानुपातिक सूचीमा नाम समावेश हुनुलाई व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्वका रूपमा व्याख्या गरेका छन्। तर संसदमा पुग्न अझै बढी पीडित र कम सुनिएका आवाजहरू आवश्यक रहेको निष्कर्षसहित उनले एक कदम पछाडि हट्ने निर्णय लिएको बताएका छन्।
त्यस्तै, डा त्रिशला गुरुङले पार्टीबाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस हुनु सम्मान र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै गहन आत्ममूल्यांकनपछि उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको बताएकी छन्।
उनले आफ्नो पेशागत जिम्मेवारी (विशेषतः स्वास्थ्य र कला क्षेत्रमा निरन्तर सेवा) तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने संकल्पलाई निर्णयको मुख्य आधारका रूपमा प्रस्तुत गरेकी छन्।








