तीनवटा स्वास्थ्य संस्थालाई तीन करोड बजेट अख्तियारी दिने कर्णाली प्रदेश सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • २४ पुष २०८२, बिहीबार

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेशका तीनवटा स्वास्थ्य संस्थाको लागी तीन करोड बजेट अख्तियारी दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्था सुदृढीकरणका लागि बजेट अख्तियारी प्रदान गरेको हो ।

प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक-एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृर्षीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिकालाई १ करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

त्यस्तै आजको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय समेत गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

  • २४ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech