भेरीमा १ हप्तामा ११ जना सिफलिस प्रभावित बिरामी,एक चौथाइमा वैदेशिक रोजगारी स्क्रिनिङमा थाहा

अस्पतालमा हाल ‘VENUS अध्ययन २०२६’ नाम दिएर राष्ट्रिय महत्वको वैज्ञानिक अनुसन्धान सञ्चालन भइरहेको छ । VENUS26 (Venereal Disease Surveillance: Unveiling Syphilis) अध्ययन सन् २०२६  डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ ।


    • समिरमान श्रेष्ठ

  • २४ पुष २०८२, बिहीबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा पछिल्लो एक हप्तामा ११ जना सिफलिस (भिरिङ्गी) रोग प्रभावित बिरामीहरू उपचारका लागि अस्पताल पुगेका छन् । तीमध्ये करिब एक चौथाइ एसिम्पटोमेटिक अर्थात् लक्षण नभएका हुन्, जो वैदेशिक रोजगारीको क्रममा गरिने जाँचमा थाहा भएका थिए । बाँकी बिरामीहरूमा ANC स्क्रिनिङ, कन्ट्याक्ट ट्रेसिङ, वा सिम्पटोमेटिक अर्थात् लक्षण देखिएका केसहरू रहेका छन् ।

अस्पतालमा हाल ‘VENUS अध्ययन २०२६’ नाम दिएर राष्ट्रिय महत्वको वैज्ञानिक अनुसन्धान सञ्चालन भइरहेको छ । उक्त अध्ययनको नेतृत्व अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौनरोग विशेषज्ञ डा. बद्री चापागाईंले गरिरहेका छन् ।

डा. चापागाईंका अनुसार पछिल्लो समय समाजमा सिफलिस संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । उपचारका लागि आएका बिरामीहरूमध्ये केहीले पहिले नै उपचार पाइसकेका छन् भने केही हाल उपचारकै क्रममा रहेका छन् । पछिल्लो समय बिरामीहरूमा चेतना बढेकाले पनि अस्पताल आउने संख्या बढ्दै गएको उनको भनाइ छ ।

भेरी अस्पतालमा यो अध्ययन सुरु भएपछि नयाँ उपचार विधि वा जानकारी पाइन्छ कि भन्ने जिज्ञासाका कारण पनि बिरामीहरू अस्पताल आइरहेको डा. चापागाईंले बताए । उनका अनुसार यो अध्ययन केवल यौनरोगमा सीमित नभई समाजको संरचना, व्यक्तिगत बानी–व्यवहार तथा वैदेशिक रोजगारीसँग सिफलिस रोगको अन्तरसम्बन्ध केलाउने उद्देश्यसहित अघि बढाइएको हो ।

डा. चापागाईंले यौनाङ्गमा घाउ आएको वा पहिले आएको अनुभव भएका तथा वैदेशिक रोजगारीका लागि रक्त परीक्षणका क्रममा अनफिट भएका व्यक्तिहरूलाई एकपटक भेरी अस्पतालको ओपीडी नं. २२ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

अस्पतालको छाला तथा यौनरोग विभागमा विशेष ‘VENUS Corner’ स्थापना गरिएको छ ।  सिफलिससम्बन्धी परामर्श, परीक्षण र उपचार सेवा त्यहाँबाट सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान भईरहेको छ ।

VENUS26 (Venereal Disease Surveillance: Unveiling Syphilis) अध्ययन सन् २०२६  डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । VENUS26 अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यवहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय STI मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा छ ।

सिफलिस (भिरिङ्गी) के हो ?

सिफलिसई नेपालीमा प्रायः भिरिङ्गी भनिन्छ । यो एक यौन सम्पर्कबाट सर्ने रोग हो । यसलाई Treponema pallidum नामक ब्याक्टेरियाले संक्रमण गराउँछ ।

मुख्य लक्षणहरू:

  • यौनाङ्गमा घाउ

  • छालामा दाना वा फोका

  • ज्वरो, टाउको दुखाइ, सुन्निने समस्या

  • उपचार नपाए लामो समयपछि मस्तिष्क, मुटु र अन्य अंगमा गम्भीर असर

यो रोगको प्रारम्भिक चरणमा एन्टिबायोटिकले सजिलै उपचार गर्न सकिन्छ । समयमै जाँच र उपचार नगर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या आउन सक्ने डा. बद्री चापागाईं बताउँछन् ।

  • २४ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech