स्वास्थ्यमन्त्री सारुले भने–सुशासन र गुणस्तरीय सेवा हाम्रो प्राथमिकता छ

    • समिरमान श्रेष्ठ

  • २३ पुष २०८२, बुधबार

नेपालगन्जः लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि दुईवटा थिममा रहेर काम भइरहेको बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरुको समीक्षा तथा कार्ययोजना गोष्ठीलाई सम्बोधन गर्दै उनले सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनका अनुसार सुशासनअन्तर्गत प्रणाली, जवाफदेहिता र पारदर्शितालाई सूचकका रुपमा लिइएको छ भने गुणस्तरीय सेवाअन्तर्गत जनशक्तिको व्यवस्थापन, औषधि उपचार तथा जनचेतनालाई सूचक बनाइएको छ । मन्त्री सारुले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र निर्देशक रोशनलाल चौधरी ।

उनले मातृ मृत्युदर र कुपोषण न्यूनीकरणका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था खराब छ । त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढेका छौँ। पारिवारिक लगत संकलनको काम पनि प्रदेश सरकारबाट भइरहेको छ ।”

समुदाय र सांस्कृतिक परम्पराका कारण पनि मातृ मृत्युदर बढेको पाइएको भन्दै उनले प्रक्रियामा केन्द्रित भएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । यस्तै, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले बढ्दो मातृ तथा नवजात शिशु मृत्युदर रोक्न प्रदेश सरकारले तथ्यगत कारण खोजी मापदण्ड तयार गरिरहेको बताइन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ

उनले भनिन्, “बजेटको अभाव छैन । मातृ मृत्युदरका कारण पहिचान भइसकेका छन् तर न्यूनीकरण हुन सकेको छैन । हामी निरन्तर समीक्षा गरिरहेका छौँ । मोडालिटी नै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ, त्यसका लागि मन्त्रालयले मापदण्ड बनाइरहेको छ ।”

उनले मातृ तथा नवजात शिशु मृत्युदर सुधार गरेका पालिकाहरूसँग समन्वय गरी त्यहाँका सफल अभ्यास अन्य पालिकामा विस्तार गर्ने योजना बनाइएको जानकारी पनि दिइन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय सरकार त्यसको कार्यान्वयन प्रक्रियामा रहेको बताए ।

नेपालगन्जका मेयर प्रशान्त विष्ट

नेपालगन्ज उपमहानगरपालिका बाँकेमा सबैभन्दा बढी मातृ मृत्युदर हुने पालिका भएको उल्लेख गर्दै उनले खुला सीमाका कारण भारत आवत–जावत गर्ने परिपाटीले नियमित स्वास्थ्य जाँच छुट्दा मातृ मृत्युदर बढेको बताए । त्यसको न्यूनीकरणका लागि आफूहरु प्रयासरत रहेको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बाँके मातृ मृत्युदरको ‘हब’ बन्दै गएको बताइन् । उनले स्वास्थ्यकर्मीहरुले मात्र मातृ मृत्युदर रोक्न नसक्ने भन्दै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको औँल्याइन् । कार्यक्रममा बाँकेका आठै पालिकाका स्वास्थ्य शाखाहरुले प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरूको प्रस्तुतीकरण गरेका थिए । सोबारे स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरुको समीक्षा तथा कार्ययोजना गोष्ठीका सहभागिहरु ।

  • २३ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech