जनशक्ति र बजेट बाँकेमा सुपरस्पेसियालिटी सेवाका चुनौती

कोहलपुर महोत्सवमा स्वास्थ्य बहस


    • स्वास्थ्य पेज

  • १२ पुष २०८२, शनिबार

नेपालगन्ज: स्वास्थ्य नीति, बजेट र सेवाको यथार्थ अवस्थामाथि गहिरो बहस गर्दै कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा कोहलपुर महोत्सवभित्र शनिवारदेखि टक–शो कार्यक्रम सुरु भएको छ । कार्यक्रमको पहिलो सेसनमा ‘हाम्रो स्वास्थ्य–सबैको सरोकार’ विषयमा केन्द्रित बहस गरिएको हो । पहिलो सेसनका वक्ताका रुपमा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्याम सुन्दर यादव र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक प्रा. डा. रेशम बहादुर राना थिए । पत्रकार प्रियास्मृति ढकालले सहजीकरण गरेको उक्त सेसनमा दुवै वक्ताले नेपालको स्वास्थ्य प्रणालीमा भएका उपलब्धि, कमजोरी र सुधारका बाटोबारे अनुभवजन्य धारणा राखे ।

पूर्व अतिरिक्त सचिव डा. यादवले पछिल्ला वर्षमा स्वास्थ्यप्रति नागरिकको चासो उल्लेखनीय रुपमा बढ्दै गएको बताए । नागरिकहरुले पाउनुपर्ने सेवा पनि विस्तार हुँदै गएको उनको भनाइ छ । वीमा कार्यक्रम, विपन्न नागरिक कोष, सामाजिक सुरक्षा लगायतका कार्यक्रमले विपन्न नागरिकलाई उपचारमा धेरै सहज भएको बताए । तर त्यसको बारेमा आमसर्वसाधरणलाई बुझाउन नसकिएको उनको भनाइ थियो । ‘संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ उनी भन्छन्–‘नीति, नियम र संरचना त छन् तर कार्यान्वयन कमजोर हुँदा नागरिकले जति पाउनुपर्ने ती सेवाहरु छन् पाउन सकेका छैनन् ।’ उनका अनुसार स्वास्थ्य क्षेत्रमा राज्यको लगानी पर्याप्त छैन । संघीय, प्रदेश र स्थानीय-तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य नहुँदा सेवाको पहुँच र गुणस्तर दुवै प्रभावित भएको छ ।

डा श्यामसुन्दर यादव ।

‘जनशक्ति अभाव गम्भीर समस्या हो उनले भने–‘राज्यले कम्तीमा दरबन्दी सिर्जना गरेर आवश्यक जनशक्ति पठाउनुपर्छ ।’ करिव एक वर्ष मन्त्रालयमा बसेर काम गरेका उनले कतिपय राजनीतिक दवावका कारणले पनि स्वास्थ्य सेवालाई सहज बनाउन चुनौतीपूर्ण रहेको अनुभव उनले सुनाए । बाँके जिल्लालाई स्वास्थ्यको ‘हब’ का रुपमा चिनाउँदै डा. यादवले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले विशेषज्ञ तथा विशिष्टिकृत सेवा विस्तार गर्दै गएको उल्लेख गरे । ‘मेरो कार्यकालमै भेरी अस्पतालमा सुपरस्पेसियालिटी सेवा सुरु गरिएको हो उनले स्मरण गर्दै भने–‘क्याथल्याब सुरु भएपछि यस क्षेत्रका नागरिकले ठूलो राहत महसुस गरेका छन् ।’ त्यसपछि क्रमशः भेरी अस्पतालमा सुपरस्पेसियालिटी सेवा थपिदै गएको उनको भनाइ छ । पछिल्लो समय एकेडेमिक गतिविधिहरु पनि हुन थालेका छन् । ‘सबै एकैपटक हुने कुरा होइन तर विस्तारै सेवाहरु स्तरीय भइरहेका छन्’–उनी थप्छन् ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक प्रा. डा. रेशम बहादुर रानाले स्वास्थ्य क्षेत्रमा राज्यले पर्याप्त बजेट छुट्याउन नसक्नु नै मुख्य चुनौती भएको बताउँछन् । नीति राम्रा छन् उनी भन्छन्–‘बजेट नहुँदा नागरिकहरुले कसरी सहज र गुणस्तरीय सेवा पाउँछन् ?’ निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँ–गाउँमा पुगेर सेवा दिँदै आएको उल्लेख गर्दै उनले राज्यले आवश्यकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गर्न सके धेरै नागरिक स्वास्थ्य सेवाको पहुँचमा आउने बताए ।

प्रा डा रेशम बहादुर राना

‘जहाँ प्रसूति तथा स्त्रीरोगको समस्या धेरै छ, त्यहीँ त्यही विशेषज्ञ पठाउनुपर्छ उनले भने–‘नसा, हाडजोर्नी समस्या बढी भएको ठाउँमा त्यही सेवा केन्द्रित हुनुपर्छ । त्यो मेकानिजम सरकारी तर्फबाट भएको छैन । निजी क्षेत्रबाट हामीले वर्ष–वर्षमा त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिरहेका छौं ।’ करीब तीन दशकदेखि विशेषज्ञ सेवा दिँदै आएको नेपालगन्ज मेडिकल कलेज क्रमशः आफूलाई स्तरीय बनाउँदै आएको उनको भनाइ छ ।

‘युरोलोजी, न्यूरोलोजी लगायत विशिष्टिकृत सेवा दिइरहेका छौं उनी भन्छन्–‘डायलाइसिस सेवा त झनै उत्कृष्ट छ ।’ उनले पनि जनशक्ति अभाव मुख्य चुनौती औल्याउँछन् । विशिष्टिकृत सेवाका लागि आवश्यक पर्ने जनशक्तिकै अभावले सेवा विस्तारमा समस्या रहेको उनको तर्क छ । चार दशक लामो स्वास्थ्य सेवाको अनुभव बटुलेका डा. रानाले ११ औँ तहबाट सेवा निवृत्त भएपछि पछिल्ला सात वर्षदेखि मेडिकल कलेजको निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनले आफ्नो जागिरे जीवनमा कहिल्यै निजी अस्पतालमा प्राक्टिस नगरेको बताए । चिकित्सकले पेशागत इमान्दारितालाई सर्वोपरि राख्नुपर्ने उनको भनाइ छ । ‘अवसर नआएका होइनन्, तर मैले सधैं अस्वीकार गरे उनले भने–‘चिकित्सकहरु पेशागत इमान्दारिताबाट विचलित हुँदा बिरामीको दृष्टिकोण नकारात्मक बन्छ ।’

टक शो पछि सामुहिक फोटो

निजामती कर्मचारी र चिकित्सकबीच सेवा–सुविधामा समानता हुँदा, करोडौँ खर्च गरेर पढेका चिकित्सक निजी प्राक्टिसतर्फ आकर्षित हुने अवस्था सिर्जना भएको उनको टिप्पणी थियो । यसलाई चिर्नका लागि राज्यले नीति नै परिवर्तन गर्न उनले सुझाव दिए । कोहलपुर महोत्सवअन्तर्गत सुरु गरिएको टक–शो कार्यक्रमले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नीति निर्माता, चिकित्सक र सर्वसाधारणबीच संवादको सेतु निर्माण गर्ने संघका अध्यक्ष प्रदीप भट्टराईले बताए ।

  • १२ पुष २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech