औषधि प्रतिरोधी संक्रमणका कारण हरेक वर्ष विश्वभर करिब ५० लाख मानिसको ज्यान जाने गरेको स्वास्थ्य चिकित्सा क्षेत्रमा प्रतिष्ठित ‘द लानसेट’ मा हालै प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा उल्लेखछ । यो प्रतिवेदनलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत आत्मसाथ गर्दै यस विरुद्ध अहिले नै उचित कदम नचाले भयावह रूप लिने भनिसकेको छ । डब्लूएचओले विश्वव्यापी स्वास्थ्यकालागि १० खतराको सूचीमा ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ (एएमआर) लाई समावेश गरेको छ । नेपाल जस्तो विश्वका धेरै अल्पविकसित देशलाई एएमआर आगामी दिनमा ठूलो चुनौती हुने देखेरै यसको रोकथाम र नियन्त्रणका लागि डब्लूएचओ लगायत स्वास्थ्य क्षेत्रमाकार्यरत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न पर्यत्न पनि गरिरहेका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि सचेतनाका कार्यक्रमहरु प्रारम्भ गरेको छ ।
ब्याक्टेरिया, भाइरस र ढुसी जस्ता सूक्ष्म जीवविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्म जीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने अवस्था आउछ । चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैं वा औषधि पसलबाट किनेर एन्टिबायोटिक औषधि प्रयोग गर्दा टाइफाइड र औलो जस्ता रोग लाग्दापनि बिरामीको उपचार गर्न कठिन हुने अवस्था आइसकेको छ । यसको मुख्य कारण भनेको जथाभावी एन्टिबायोटिकको प्रयोग हो । रुघाखोकी, ज्वरो आउना साथ मेडिकलमा गएर एन्टिबायोटिक औषधि किन्ने र खाने चलन छ । रुघाखोकी, ज्वरो आउनासाथ एन्टिबायोटिक औषधि खानुपर्छ भन्ने छैन । सिटामोल खाने र पर्याप्त आराम गर्ने हो भने यो दुई चार दिनमा आफैं ठिक हुन सक्ने रोगहरु पनि हुन सक्छन् ।
एन्टिबायोटिकको प्रयोग त अहिले पसलमा गएर चकलेट किनेर खाए जस्तै भइसक्यो । चिकित्सक वा स्वास्थ्यकर्मीहरुले पनि जथाभावी एन्टिबायोटिक दिने गरेको पाइन्छ । चिकित्सकको सल्लाह बिना आवश्यक भन्दा बढी औषधि सेवन गर्ने, सल्लाहमा दिएको औषधि पूरा मात्रा सेवन नगर्नाले मानिसहरु ठूलो स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । जसका कारण दीर्घ र अल्पकालीन स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइरहेका छन् । आफूखुसी एन्टिबायोटिक खानै हुन्न । अर्को कुरा चिकित्सकको सिफारिसमा सेवन गरे पनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बिचैमा छाड्न हुँदैन ।
एन्टिबायोटिक अत्याधिकवा पूर्ण मात्रा सेवन नगर्दा शरीरमा किटाणु रहिरहन्छ । औषधि सेवन गर्दा गर्दै निको भएको आभास भई बीचैमा छाड्दा चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले पछि काम नगर्ने, निको हुन समय लाग्ने अवस्था आउनु एन्टिमाइक्रोबियल रेसिस्टेन्स हो । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक औषधिको वर्गीकरण गरेको छ । एन्टिबायोटिक औषधिलाई यासिस (access), वाच (watch) र रिजर्भ (reserve) समूहमा छुट्याइएको छ ।
यासिस समूहको एन्टिबायोटिक औषधि भनेको सजिलै प्राप्त गर्न सकिन्छ भने कम खतरनाक पनि हुन्छ । सामान्य समस्या हुँदा यो डाक्टरको प्रेस्क्रिप्सनमा पाइने औषधि हो । वाच समूहको एन्टिबायोटिक औषधि हेरेर विचार गरेर मात्र सेवन गर्नुपर्छ । रिजर्भ समूहको यो औषधि पनि चिकित्सकले एकदमै आवश्यक भएमा औचित्य पुष्टि हुने गरी मात्रै प्रेस्क्रिप्सन गर्नुपर्छ र बिना प्रेस्क्रिप्सन सेवन गर्नै हुन्न । बिरामीका लागि यो अन्तिम विकल्प नै हो ।
रिर्जभ एन्टिबायोटिकले पनि काम गरेन भने जस्तै लडाइँमा खटाइएको सेनाको रिजर्व फोर्स सकिनु जस्तै हो । लडाइँ जारी छ रिजर्व फोर्स छैन । रिजर्व फोर्स नभएपछि अवस्था के हुन्छ ? पछिल्लो समय एएमआरका कारण गम्भीर भएर अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीको संख्या बढिरहेको छ । नेपालमा एएमआरकै कारण के कति बिरामी जटिल अवस्थामा पुग्छन् वा मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक नभएपनि यथोचित अध्ययन गरिएको खण्डमा त्यो उल्लेख्य हुने देखिन्छ ।
रोकथाम कसरी गर्ने ?
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्नु नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स रोकथाम गर्नु हो । जस्तैः मरफिन, ट्रामाडोल जस्ता औषधिहरु एनएमसीमा दर्ता भएका चिकित्सकको अनुमति बाहेक विक्री गर्न मिल्दैन । त्यस्तै गरी एन्टिबायोटिक पनि चिकित्सकको अनुमति विना विक्री गर्न नपाइने नीति ल्याउनुपर्छ । एन्टिबायोटिक स्टेवार्डसीप (ब्लतष्दष्यतष्अ कतभधबचमकजष्उ) को अवधारणा अनुसार एन्टिबायोटिकको प्रयोग ल्याउनु पर्छ ।
अर्को कुरा एन्टिबायोटिक जथाभावी खाने औषधि होइन भन्ने कुरा आमनागरिक र बिरामीलाई बुझाउन आवश्वयक छ । जथाभावी एन्टिबायोटिकको प्रयोगले एन्टिबायोटिक रेजिस्टेन्स आयो भने एउटा सामान्य घाउचोटले पनि मानिसको मृत्यु हुन सक्छ भन्ने कुरा आमसर्वसाधरणलाई बुझाउन सक्नुपर्छ ।
मान्छेमा मात्रै नभएर पशुपंक्षीमा पनि जथाभावी एन्टिमाइक्रोबियल्स छिरिसकेको छ । पशुपंक्षीमा निकै कडा खालका एन्टिमाइक्रोबियल्स प्रयोग हुने गरेको देखिन्छ । अब चिकित्सक वा अस्पताललाई मात्रै दोष दिएर पन्छिने अवस्था छैन । भेटेरिनरीतर्फ पनि एन्टिमाइक्रोबियल्सको जथाभावी प्रयोग छ । त्यो पनि एउटा प्रमुख कारक हो, जसलाई सम्बोधन गर्नैपर्छ । त्यसैगरी तरकारी तथा फलफुलमा पनि विभिन्न एन्टिबायोटिक दिने गरिन्छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स भएको मासु र तरकारी हाम्रो भान्छासम्म पुग्छ । यो पनि ठूलो समस्याको विषय छ । त्यसैले अब एउटा चिकित्सक र स्वास्थ्यकर्मीहरुले मात्रै सोचेर यो समस्यालाई समाधान गर्न सकिँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग अनुसार स्थानीय तहका स्वास्थ्य चौकी देखि ठूला अस्पतालहरूले कुन अवस्थामा एन्टिबायोटिक सिफारिस गर्न पाउने भन्नेबारे २०७१ सालमै मापदण्ड तयार पारेको थियो ।
चिकित्सकको परामर्शका आधारमा मात्र एन्टिबायोटिकको विक्रीवितरण गर्नका लागि उक्त निर्देशिकाले स्पष्टसँग उल्लेख पनि गरेको छ । डब्लूएचओले पनि नीतिहरु बनाएको छ । त्यसको कडाईका साथ कार्यान्वयन र अनुगमन गर्न आवश्यक छ । चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी तथा आमनागरिक नै यो प्रति जिम्मेवार र सचेत हुन आवश्यक छ । एएमआरसँग सम्बन्धित समस्या सम्बोधन गर्न अब एक पक्षको मात्रै नभएर बहुपक्षको समन्वय आवश्यक पर्छ । समग्रमै ‘वान हेल्थ’ कै अवधारणामा अगाडि बढ्नु पर्ने तत्कालको आवश्यकता छ ।
(डा.पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन् )