तराईका विभिन्न भूभागमा अत्यधिक गर्मी, सचेत रहन आग्रह

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८१, आईतवार

काठमाडौं: अहिले देशका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ ।

लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनदेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका विभिन्न भूभागमा अझै केहिदिन तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने भएकोले घरभित्रै रहन विभागले आग्रह गरेको छ ।

त्यस्तै, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech