सही र प्रभावकारी सन प्रोटेक्सन क्रिम कुन हुनसक्छ ?

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८१, आईतवार

गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ ।

धेरै पटक कडा घामको कारणले दाग धब्बा, चाउरीपन ‘सनर्बन’, ‘टेनिङ’ र अन्य छालासम्बन्धी समस्याको सामना गर्नुपर्छ । सूर्यबाट उत्सर्जित पराबैजनी किरणले हाम्रो छालालाई ठूलो नोक्सान पुर्‍याउँछ । छालासम्बन्धी विभिन्न समस्याबाट बच्न सनब्लक क्रिमको प्रयोग गरिन्छ ।

सनस्क्रिन कति प्रकारका हुन्छन् ? सनस्क्रिन लगाउने विधि के हो ? सनस्क्रिन कसरी छनोट गर्ने ? सनस्क्रिन लगाउने सही समय कुन हो ? जस्ता कुराको दुविधा हुनसक्छ ।

सूर्यबाट यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हात खुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

कति एसपीएफको लगाउने ?

सनस्क्रिन खरिद गर्ने बेला एसपीएफ (सन प्रोटेक्सन फेक्टर) हेर्न बिर्सनु हुन्न । एसपीएफ १५ ले ९३ प्रतिशत युबीबी किरणलाई रोक्छ, एसपीएफ ३० ले ९७ प्रतिशत यूबीबी किरणलाई रोक्छ । त्यसैले एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन लगाउने सही तरिका

छालामा सबैभन्दा पहिले सनस्क्रिन लगाउने कि मोइस्चराइजर लगाउने भन्ने विषयमा धेरै जना अलमलिएको पाइन्छ । छालामा सबैभन्दा पहिले मोइस्चराइजर लगाउनुपर्छ त्यसपछि सनस्क्रिन ।

घरबाट निस्कनुभन्दा आधा घण्टाअघि नै सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । घरबाट बाहिर निस्किंदा मात्र होइन, घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

एक पटकमा एक चिया चम्चा ‘पाँच एमएल’ जति बाक्लो लेयर सनस्क्रिन लगाउनुपर्छ । पातलो लेयर लगाउँदा त्यसले सूर्यको हानिकारक किरणलाई राम्ररी छेक्न सक्दैन ।

सही र प्रभावकारी सन प्रोटेक्सन क्रिम कुन हुनसक्छ ?

बजारमा विभिन्न प्रकारको तथा विभिन्न ब्रान्डको सनस्क्रिन पाइन्छ । तर सनस्क्रिन खरिद गर्दा सही र प्रभावकारी छनोट गर्न केही कुरामा ध्यान दिनुपर्छ । एसपीएफ ३० भन्दा माथि भएको सनस्क्रिन छान्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभई पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि (पीए++) अथवा तीन वा चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ ।

सनस्क्रिन किन्दा ध्यान दिनुपर्ने कुरा

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने लोसनबेस लगाउनुपर्छ । सुक्खा छाला छ भने क्रिमबेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन मुख्यतया दुई प्रकारको हुन्छ- फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । फिजिकल सनस्क्रिनले छालाभित्र सम्म नगएर बाहिरबाट नै संरक्षण गर्छ । यसलाई मिनिरल सनस्क्रिन पनि भनिन्छ । गर्भवती महिला  र सेन्सिटिभ  छाला भएकाहरूले यो सनस्क्रिन लगाउनुपर्छ । केमिकल सनस्क्रिन भने विभिन्न केमिकलको मिश्रणबाट बनेको हुन्छ । धेरै घामको सम्पर्कमा आउने व्यक्तिहरूले केमिकल सनस्क्रिन लगाउनुपर्छ ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech