यस्ता छन् प्याज खानुका फाइदाहरु

    • स्वास्थ्य पेज

  • २ बैशाख २०८१, आईतवार

डा.पुनेश्वर केशरी, 
आयुर्वेदिक चिकित्सक ।

हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा पनि प्याज हालिएकै हुन्छ ।

पहिला अन्य तरकारीमा प्याजको प्रयोग नगरेपनि मासुमा भने प्याज अनिवार्य जस्तै गरी प्रयोग गरिन्थ्यो । त्यसबेला प्याज बिनाको मासु पाक्दैनथ्यो र मासु पकाउँदा प्याज धेरै हाल्ने चलन थियो । मासुमा किन प्याज हालिन्छ भन्ने खास कुरा थाहा नभएपनि प्राय:ले स्वाद बढाउन भन्ने सोच्छन् । तर त्यस्तो खास हुँदैन । खासमा मासुमा भएको चिल्लोपन र बोसो पचाउन औषधिको रुपमा काम गर्छ । यसमा भएको क्वेरसेटिन तत्वले पाचन इन्जाइम उत्पादन गर्न मद्दत गर्छ । यसले खानालाई टुक्राउन र पोषण तत्वलाई अवशोषित गर्ने काम गर्छ ।

प्याजमा मुख्यतया रसायनिक यौगिकमा क्वेरसेटिन, एलिसिन र फिसिटिन नामक तत्व हुन्छ । प्याजमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरिया, एन्टिडाइबेडिटक, एन्टिलिपिडेमिक, एन्टिफंगल र एन्टिक्यान्सर गुण हुन्छ । साथै भिटामिन ए, मिनरल्स, भिटामिन बी कम्प्लेक्स, सल्फर र एमिनो एसिड पनि हुन्छ ।

प्याजले आन्तरिक र बाह्य दुवैको औषधीय काम गर्छ ।

अनिद्राको समस्या हटाउँछ

प्याजमा हुने एलट्रिप्टोफान नामक तत्वले गर्दा अनिद्राको समस्या हटाउने हुन्छ । एक आवश्यक एमिनो एसिड हो । यसले मस्तिष्कको गतिविधिलाई सुस्त बनाउँछ । निद्रा लाग्ने गर्छ ।

क्यान्सरको जोखिम कम गराउँछ

प्याजमा सल्फर तत्व अधिक हुन्छ । यसमा भएको क्वेरसेटिन तत्वले क्यान्सर गराउने कोषिकालाई रोक्ने काम गर्छ । डीएनएमा क्षति हुनबाट पनि जोगाउँछ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ । साथै यसले यौनाङ्गमा हुने संक्रमणको समस्याबाट जोगाउँछ ।

कोलेस्टोरेल नियन्त्रण गर्छ

काँचो प्याजमा हुने मिथाइल सल्फाइड तथा एमिनो एसिडले खराब कोलेस्टेरोललाई घटाएर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । साँघुरो भएको वा बन्द हुने अवस्थामा रहेको धमनीलाई खोल्छ । यसको नियमित सेवनले हाई ब्लड प्रेसरको समस्या भएकालाई सन्तुलनमा ल्याउने गर्छ । मुटुको समस्याबाट टाढा राख्छ ।

मधुमेह :  काँचो प्याज खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्छ । मधुमेह भएकाले सलादमा नियमित रूपमा प्याजको सेवन गर्न सकिन्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ ।

एनिमिया रोग हुनबाट जोगाउँछ

प्याजले रातो रक्तकोषिका निर्माण गर्न पनि सहयोग गर्छ । यसले एनिमिया हुनबाट पनि जोगाउँछ । त्यस्तै प्याज एन्टिप्लेटलेट हुन्छ । शरीरमा भएको प्लेटलेटहरुलाई एकसाथ टाँस्नबाट रोक्छ । यसले शरीरमा रगत जम्ने क्षमता घटाउँछ । महिनावारी नियमित गराउन मद्दत गर्छ ।

कब्जियत र पायल्सको समस्याबाट टाढा राख्छ

प्याजमा हुने रेसाले पाचन प्रणाली बढाउन मद्दत गर्छ । यसले पेटमा टाँसिएर रहेको खानालाई बाहिर निकाल्न मद्दत गर्छ, जसले पेट सफा राख्छ । कब्जियतको समस्या भएमा काँचो प्याज खान सकिन्छ ।

प्याजको बाह्य उपयोग

कपाल झर्ने समस्या फंगस इन्फेक्सनले गर्दा हुन्छ, जसकारण ठाउँ-ठाउँको कपाल झर्ने गर्छ । यस्तो अवस्थामा प्याजको रस राख्न सकिन्छ । यसमा भएको सल्फर तत्वले त्यहाँ भएका ब्याक्टेरिया नष्ट गर्छ र कपालको जरालाई बलियो बनाउँछ । त्यस्तै जोर्नी सुन्निने समस्या, शरीरमा कतै गाँठागुठी निस्किएमा पनि प्याजको प्रयोग गर्न सकिन्छ । यसमा प्याजलाई तलाएर त्यसको पट्टी बाँध्न सकिन्छ ।

कहिले र कति खाने प्याज ?

प्याजलाई खाद्यपदार्थमा प्रयोग गर्ने हो भने बिहानभन्दा बेलुका खानु उपयुक्त हुन्छ । किनकि बेलुका प्याज खाँदा राम्रो निद्रा लाग्छ र खाद्यपदार्थको रुपमा काँचो प्याज दिनको दुईवटासम्म खान सकिन्छ । तर औषधीय प्रयोगका लागि खाने हो भने प्याजको रस उपयुक्त हुन्छ ।

औषधिको रुपमा दैनिक १० देखि २० एमएल प्याजको रस पिउन सकिन्छ । तर उमेर र रोगअनुसार यसको मात्रा फरक-फरक हुन्छ । जस्तै, बालबालिकालाई कफ अड्किने समस्या भएमा प्याजको रसमा मिस्री थोरै घोलेर खुवाउन सकिन्छ भने वयस्क वा वृद्धलाई सोही समस्या भएमा प्याजको रस तताएर खान सकिन्छ । त्यस्तै प्याजको रसमा मह मिसाएर खाँदा यौन शक्ति बढाउँछ । यसका लागि चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

प्याज काँचो, पकाएर र रस बनाएर खान सकिन्छ । खाद्यपदार्थको रुपमा काँचो प्याज खानु उपयुक्त हुन्छ भने औषधीय प्रयोजनको लागि रस । यसो भन्दैमा पकाएर खानु नराम्रो होइन । यसमा भएको पकाउँदा भिटामिन सी र ए नष्ट हुन्छ ।

कसले खानु हँदैन ?

रगत पातलो गराउने औषधि खाइरहेको अवस्थामा प्याज खानु हँदैन । त्यस्तै गर्भावस्थाको पहिलो त्रैमासिकमा प्याजको बीउ खानु हुँदैन । यसले रगतलाई पातलो बनाएर गर्भ तुहिने सम्भावना हुन्छ ।

सन् २०१९ मा गरिएको एक अध्ययनले प्रत्येक वर्ष ३५ पाउन्ड प्याज र अन्य एलियम तरकारीहरू खपत गर्दा कोलोन क्यान्सरको जोखिम लगभग ८० प्रतिशतले घटाउन सक्छ । नेसनल ओनियन एसोसिएसनका अनुसार धेरै अमेरिकीले एक वर्षमा लगभग २२ पाउन्ड प्याज उपभोग गर्ने देखाएको छ । अन्य धेरै अध्ययनले दैनिक प्याजको उपभोग गर्दा मस्तिष्क, स्तन, फोक्सो, पाठेघर र पेटको क्यान्सरबाट जोगाउन मद्दत गर्छ ।

जसअनुसार प्याजका खास ६ फाइदा छ्न- क्यान्सरबाट जोगाउने, हड्डी बलियो बनाउने, पाचन प्रणाली बलियो बनाउने, कोलेस्टेरोल कम गर्ने र रगतमा सुगरको मात्र सन्तुलनमा राख्ने ।

खानामा प्रत्येक पटक प्याज गोलभेंडासँगै खाँदा फाइदा हुने वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकहरूले प्याजमा रहेको सल्फर यौगिकहरूले लाइकोपिनको अवशोषणलाई बढावा दिन्छ, गोलभेंडामा रहेको एन्टिअक्सिडेन्ट क्यान्सर र हृदयरोग, साथै मस्तिष्क, हड्डी र आँखाको स्वास्थ्यबाट बचाउन मद्दत गर्छ । यसलाई ओमेलेट, सलाद, सुप बनाएर खान सकिन्छ ।

त्यस्तै २०१६ को एक अध्ययनले मध्यम उमेर र रजोनिवृत्तिपछि आठ हप्तासम्म हरेक दिन चारवटा प्याजको रस पिउने मानिसको हड्डी बलियो भएको पत्ता लाग्थ्यो ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech