सात जिल्लाका ५० लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइँदै

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८१, आईतवार

काठमाडौं: आजदेखि सात जिल्लाका ५० लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइँदै छ । देशका सात जिल्लामा आज देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु हुँन लागेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

माहाशाखाका अनुसार आजबाट झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु हुन लागेको हो । यसपटक सात जिल्लाका १०१ पालिकामा रहेका ५० लाख ७८ हजार नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिनुभयो ।

सात जिल्लामा आजबाट सञ्चालन हुने अभियानमा यसपटक करीव ६ हजार स्वास्थ्यकर्मीहरु र ५ हजार ८०० सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुने बताइएको छ ।अभियानका लागि यसबर्ष सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। हात्तिपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अलबेन्डाजोल रहेका छन्।

हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तिपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech