नेपालगन्जमा रहेको वर्मा अञ्जला मेडिकल सिल

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०८१, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१३ मा रहेको वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको छ । गैरव्यक्तिबाट औषधी पसल संचालन गरेको पाइएपछि सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाइएपछि वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको बताउनुभयो ।

सर्वसाधारणले गरेको गुनासोको आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार शाहले बताउनुभयो । “उक्त औषधी पसलका बारेमा सर्वसाधारणले गुनासो गरेका थिए,  गुनासोका आधारमा अनुगमनका क्रममा गैर व्यक्तिबाट औषधी पसल सञ्चालन गरेको पाइयो”, शाहले भन्नुभयो ।

निरीक्षक शाहले उक्त औषधी पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एकजना गैर व्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधी समेत सञ्चय गरेको पाइएकोले पसललाई सिल गरिएको बताउनुभयो ।

आवश्यक थप अनुसन्धानका लागि पसलका सञ्चालकलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

  • १७ बैशाख २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech