राप्ती प्रादेशिक अस्पतालः बिरामीको चाप अत्यधिक, दरबन्दीको अभाव

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०८०, मंगलवार

नेपालगन्जः दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ। ५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्। तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक पनि नआउनुले सेवा प्रवाहमा समस्या हुन थालेको हो। तुलसीपुर उपमहानगर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका सर्वसाधारणहरू यहीँ आउने गरेका छन्।

त्यस्तै छिमेकी जिल्ला रोल्पा, रूकुम पूर्व, सल्यान, रूकुम पश्चिमबाट पनि बिरामीहरू उपचार गराउन त्यही अस्पताल पुग्छन्।
बिरामीको चाप हुँदा टिकट काट्न पनि सकस हुन्छ। अस्पतालमा उपचार गराउन जाँदा घण्टौं लाइनमा बस्नु परेको र लाइन बस्दा पनि ठेलमठेल भएको एक सेवाग्राही शालिकराम विकले बताउनुभयो ।

अस्पतालमा पालो कुरिरहेका एक जना बिरामीका आफन्त भीमबहादुर ऐरीले पनि प्रादेशिक अस्पतालका सेवा प्रवाह समय अनुकूल चुस्त बन्न नसकेको गुनासो गर्नुभयो। सर्वसाधारणको चाप अनुरूप अस्पतालमा चिकित्सक उपलब्ध नहुँदा एउटै चिकित्सकले एकै दिनमा सयौं बिरामी हेर्नुपर्ने अवस्था यो अस्पतालमा छ। अस्पतालका अर्थोपेडिक सर्जन डा.हेमराज शर्माले पनि राप्ती प्रादेशिक अस्पतालमा जनशक्तिको अभावका कारण सेवा प्रवाहमा ढिलाइ भएको बताउनुभयो ।

अस्पतालमा आउने कुनै पनि बिरामी उपचार नगराएर फर्कन नपरोस् भनेर सकभर सेवा दिने गरिएको उहाँले बताउनुभयो। आफूले जेष्ठ नागरिक, बालबच्चाहरूलाई प्राथमिकतामा राखेर उपचार गराइरहेको पनि उहाँले बताउनुभयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले सरल र सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा आफूहरू गम्भीर रहे पनि बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।

अस्पतालमा दरबन्दी बढाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक पत्राचार गरेको पनि उहाँले बताउनुभयो। तर सुनुवाइ नभएको उनको गुनासो छ। मेसु अधिकारीका अनुसार अस्पतालमा तत्काल पाँच सय बढी जनशक्ति आवश्यक छ। अहिले यहाँ चिकित्सक, नर्ससहित २३७ जना कर्मचारी कार्यरत छन्। दरबन्दीका जनशक्ति ७४ जना मात्रै हुन्।

अस्पतालमा विशेषज्ञ डाक्टर २ जना छन्। काज र करार गरी थप १२ जना डाक्टर छन‍्। मेडिकल अफिसरको दरबन्दी ६ जना छ। काज र करारमा गरी जम्मा १४ जना मेडिकल अफिसर अस्पतालमा छन्। अन्य विभिन्न क्षेत्रका सबै कर्मचारी अस्थायी, करार सेवामा कार्यरत हुन्।
५० बेड क्षमताको अस्पताल भए पनि बिरामीको चाप बढेपछि बेड थप गर्दा १५० सम्म पुगेको मेसु अधिकारीले बताउनुभयो।

अस्पतालमा बायो मेडिसिन, टेक्निसियन पनि आवश्यकता छ। अस्पतालमा सेवा प्रवाहका लागि आधुनिक उपकरणहरू भए पनि जनशक्ति नहुँदा ती प्रयोगमा आउन सकेको छैन। यसकारण बिरामीलाई अन्तै रिफर गर्न अस्पताल बाध्य हुनुपर्ने अवस्था आ‍उने गरेको उहाँले बताउनुभयो।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech