जन्मजात बच्चामा देखिने थाइराइडको समस्या, लक्षण र अभिभावकले ध्यान दिनुपर्ने कुराहरु

    • डा. राजकुमार विक/ बालरोग विशेषज्ञ

  • १० चैत्र २०८०, शनिबार

मानव शरीरमा हुने थाइराइड ग्रन्थीले थाइराइड हर्मोन निकाल्छ। नवजात शिशुमा यस हर्मोनको कमी हुनाले मस्तिष्कको विकासमा ठूलो असर पार्छ। यसैकारण संसारका धेरै देशहरूमा रोकथाम गर्न सकिने स्थायी बौद्धिक असक्षमता गराउने पहिलो कारणमा जन्मजात हाइपोथायराइडिज्म पर्दछ।

जन्मजात हाइपोथायराइडिज्म हुने कारणहरूमा थाइराइड ग्रन्थीको अल्पविकास हुनु, ग्रन्थी अन्तै ठाउँमा हुनु वा ग्रन्थी नै नहुनु प्रमुख कारणमा पर्छन् भने अन्य कारणमा थाइराइड ग्रन्थीले निकाल्ने हर्मोन उत्पादनमा कमी हुनु हो।

हाम्रो देशमा आयोडिनयुक्त नुनको प्रयोग बढेसँगै आयोडिनको कमीले हुने समस्यामा भने कमी आएको देखिन्छ।

आमामा थाइराइडको समस्या देखिएमा पनि बच्चामा यो समस्या देखिन्छ। आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५% शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिने गर्दैन। उमेर बढ्दै गएपछि समस्याहरू देखा पर्न थाल्छन्। त्यसैले सुरूआती अवस्थामै पत्ता लगाउने एउटै उपाय भनेको शिशुको रगतमा थाइराइडको मात्रा जाँच्ने हो।

लक्षणहरू
• टाउकोको साइज केही बढी हुने,
• अगाडि र पछाडिपट्टिको तालुहरू ठूलो अनि खुला हुने,
• लामो समयसम्म जन्डिस देखिने,
• बिस्तारै अनि थोरै रूने,
• धेरैबेर सुत्ने,
• खान मन नगर्ने,
• सुस्त देखिने,
• दूध खुवाउन गाह्रो हुने,
• दूध सर्काउने,
• जिब्रो ठूलो हुने भएर श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने अनि कहिलेकाहीँ श्वास नै बन्द हुने,
• पेट ठूलो हुने, नाइटोमा हर्निया हुने, कब्जियत हुने, हातगोडा चिसो भइराख्ने, सुन्निने,
• जनेन्द्रिय सुनिने,
• रगतमा हेमोग्लोबिनको मात्रा काम हुने,
• मुटुमा, दिमागमा समस्या देखिने

समयमै रोगको पहिचान तथा उपचार सुरू नभएमा बच्चाको भौतिक तथा मानसिक विकासमा स्थायी रूपले कमी आउँछ। पछाडिको तालु पुरिँदैन, नाकको डाँडी थेप्चिनु, आँखीभौ सुन्निनु, मुख खुला भइराख्नु, ठूलो मोटो जिब्रो बाहिर निकाली राख्नु, दाँत ढिलो आउनु, घाँटी छोटो हुनु, हात मोटो तथा औंलाहरू छोटो हुनु, अनुहार फुस्रो देखिनु, कपाल थोरै हुनु अनि सजिलै टुक्रा पर्नु, ढिलो हिँड्ने र बोल्ने, विकास क्रम ढिलो हुनु, उचाइ नबढ्नु, खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु, सुस्त स्वभावको बच्चा हुनु जस्ता समस्या देखिन गर्छन्।

विकसित देशहरूमा सबै नवजात शिशुलाई जन्मेको ४८ देखि ७२ घण्टामा रगतको स्क्रिनिङ गर्नुपर्ने अनिवार्य जस्तै नियम छ भने नेपालका प्राय: स्वास्थ्य संस्थामा त्यो व्यवस्था अहिलेलाई छैन। अवस्था हेरेर थाइराइड स्क्यान, भिडियो एक्सरे तथा अन्य जाँच चिकित्सकको सल्लाह बमोजिम गर्नुपर्छ।

अभिभावकले ध्यान दिनुपर्ने कुराहरू

यो रोग भनेको स्थायी रूपले बौद्धिक असक्षमता गराउने तर समयमा रोग पत्ता लागे सो समस्या हुनबाट रोक्न मिल्ने पहिलो कारण हो। आमालाई थाइराइडको समस्या भएको,औषधी सेवन गरिराखेको, रेडियसन थेरापी गरेको भए गर्भावस्थाको बेलादेखि नै चिकित्सकको सल्लाहमा निरन्तर बसिराख्ने। यस्ता समस्या आएमा तुरून्तै चिकित्सककोमा गएर चेक गराउनुपर्छ।

अन्तमा, समयमा रोग निदान तथा उपचार पाएमा बच्चामा एकदम राम्रो सुधार भएको पाइएको छ। त्यसैले हामी सबै सजक बनौं अनि आफ्नो र आफू वरिपरि त्यस्तो कुनै बच्चा भएको थाहा भएमा चिकित्सकसम्म जान सल्लाह दिऔं।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech