बाँकेमा ५३९ जना क्षयरोगी थपिए

    • स्वास्थ्य पेज

  • १० चैत्र २०८०, शनिबार

नेपालगन्जः बाँकेमा थप पाँच सय ३९ जना क्षयरोगीका विरामी फेला परेका छन् । चालु आर्थिक वर्षको सात महिनामा जिल्लामा पाँच सय ३९ जना नयाँ क्षयरोगी थपिएको स्वास्थ्य कार्यालयका क्षय कुष्ठ फोकल पर्सन रविन्द्र कुमार शाहले जानकारी दिनुभयो। त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रकै रहेका छन् ।

नेपालगन्जमा एक सय ६३ नयाँ क्षयरोगी पत्ता लागेको क्षयकुष्ठ फोकल पर्सन शाहले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा कम क्षयरोग नरैनापुरमा पत्ता लागेका छन् । नरैनापुरमा २६ जना क्षयरोगी पत्ता लागेका हुन्  । चालु आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये छ जना एचआइभी पोजेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा एक हजार एक सय दुई जना क्षयरोगी रहेका थिए । जसमध्ये नेपालगन्जमा सबैभन्दा बढी ती सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए । क्षयरोगी मध्ये पाँच जनामा एचआइभी पोजेटिभ समेत रहेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ठ अधिकृत शाह क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुहुन्छ । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, उहाँको भनाइ छ । शाह क्षयरोगको पहिचान, उपचार र निधानका लागि परीक्षण बढाउँदै लग्नु पर्ने बताउनुहुुन्छ ।

नेपालमा पछिल्लो पटक ३७ हजार चार ४७ जनामा क्षयरोग देखिएको छ । कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech