फत्तेबाल आँखा अस्पतालमा भारतीय बिरामी आउने घटे

    • स्वास्थ्य पेज

  • १० चैत्र २०८०, शनिबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका ७ फुलटेक्रामा रहेको फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ। २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पतालले स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार ५१४ जनाको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिनुभयो । त्यसैगरी दुई लाख ७९ हजार ६९६ जना नागरिकको आँखाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । निर्देशक डा. वर्माका अनुसार अस्पतालमा हाल दैनिक सरदर चार सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन्।

वार्षिक एक लाख ४० हजार सर्वसाधारण नागरिकको आँखा परीक्षण र उपचार गर्दै आएको सो अस्पताले वार्षिक १० हजार नागरिकको शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो । नेपाली नागरिकभन्दा भारतीय नागरिकको आकर्षणमा रहेको फत्तेवाल अस्पतालमा पछिल्लो समयमा भने तुलनात्मक रुपमा उपचार गर्न आउने भारतीय नागरिकको संख्या घट्दै गएको डा. वर्माले जानकारी दिनुभयो । भारत सरकारले त्यहाँका नागरिकलाई विभिन्न योजना बनाएर निःशुल्क रुपमा स्वास्थ्य उपचार गर्न सुरु गर्नु तथा कोभिड समयमा नियमित रुपमा त्यहाँका नागरिक यहाँ आउन नपाउनु र त्यतैका स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा उतै बानी परेर पनि पछिल्लो समयमा भारतीय नागरिकको आउने संख्या क्रमशः कमी हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

“तुलनात्मक रुपमा पहिलेका वर्षभन्दा पछिका वर्षमा भारतीय नागरिक उपचारका लागि आउने सङ्ख्यामा कमी आएको छ” डा. बर्माले भन्नुभयोे, “भारत सरकारले पनि त्यहाँका नागरिकको स्वास्थ्य उपचारमा विभिन्न योजना बनाएर काम गर्नु र कोभिडको समयमा नियमित रुपमा भारतीय नागरिक यहाँ आउन नपाउनु पनि यसको कारण हो ।” तुलनात्मक रुपमा कमी आएपनि अझैपनि अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या उल्लेख्य नै रहेको उहाँले बताउनुभयो ।

“अहिले पनि भारतीय नागरिक आइरहेका छन्, उपचार गर्न आउने भारतीय नागरिक र नेपाली नागरिकको संख्या बराबरी अवस्थामा रहेको छ” उहाँले भन्नुभयोे । नेपालको लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम् प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेश राज्यका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुर जिल्लाबाट आँखाका बिरामीहरुले सो अस्पतालबाट सेवा लिइरहेको डा. वर्माको भनाइ छ । अस्पतालको सुरुवातमा १० बेड क्षमता रहेको अस्पतालमा हाल २५० बेड भन्दा बढी क्षमतामा सञ्चालन भइरहेको छ। अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन्।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech