आँखा टेढोपन भएको कसरी पहिचान गर्ने ?

    • डा. दीपककुमार साह / वरिष्ठ दृष्टि विशेषज्ञ

  • ८ चैत्र २०८०, बिहीबार

हाम्रो दुवै आँखा एकै दिशामा र एकै बिन्दुमा केन्द्रित हुन्छ । दुवै आँखाले एकै बिन्दुमा केन्द्रित रहेर हेर्नु दुवै आँखाको तालमेल राम्रो भएको बुझिन्छ । तर कतिपय अवस्थामा व्यक्तिको दुवै आँखाले कुनै एउटा बिन्दुमा एकै पटक नदेखी फरक-फरक दिशामा देख्छ भने त्यसलाई टेढोपनको समस्या भनेर बुझिन्छ ।

सामान्यतया हरेक व्यक्तिको आँखा मांसपेशीसँग जोडिएको हुन्छ । यी मांसपेशीहरूले दुवैलाई एकसाथ सार्न काम गर्छन् । तर मांसपेशीले राम्रोसँग काम गर्दैन र आँखा फरक दिशामा हेर्न थाल्छ । यो समस्याको समयमै उपचार भएन भने बिस्तारै आँखाले दृष्टि कमजोर हुन्छ ।

टेढोपन हुने कारण केके हुन् ?

टेढोपन हुने कारण एक मात्र छैन । यो बच्चादेखि वयस्कको उमेरमा बढी देखिन्छ । कसैमा गर्भ रहँदा भ्रूणमा चोटपटक लागेर वा हार्मोनल परिवर्तनले हुन्छ । जुन जन्मजात टेढोपन हो । अर्को कारण भनेको चोटपटक लागेर वा कुनै रोगको कारणले आँखाको मांसपेशी कमजोर भई टेढोपन हुन्छ ।

दुईदेखि चार वर्षको उमेरमा चस्मा लगाउन परेमा वा पावर बढेमा पनि यस्तो हुनसक्छ । त्यस्तै एउटा आँखाको कम पावर र अर्को आँखामा चस्माको पावर बढाउनु परेमा पनि यो अवस्था आउँछ । यस्तोमा दुवै आँखामा पावर घटबढ भएमा आँखाको सन्तुलन बिग्रिएर आँखा टेढो हुन्छ ।

कुनै बच्चालाई उच्च पावरको चस्मा लगाउनुपर्ने हुन्छ । यदि बच्चाले लगाउनुपर्ने चस्मा नलगाउँदा आँखामा टेढोपन आउने गर्छ । आँखाको पर्दामा समस्या छ वा ट्युमरले पनि आँखा टेढो हुने गर्छ । त्यस्तै, वयस्कमा आँखाको नसामा चोटपटक, उच्च रक्तचाप, मधुमेह र स्नायु समस्याले पनि आँखा टेढो हुनसक्छ ।

आँखा टेढोपन भएको कसरी पहिचान गर्ने ?

यसको पहिचान गर्न त्यति कठिन छैन । बच्चाको हेराइबाट नै आँखाको अवस्था पहिचान गर्न सकिन्छ । यदि बच्चाले एक ठाउँमा हेर्दा अन्यत्र हेरेको जस्तो देखिन्छ भने परिवारका सदस्यले त्यो विचार गर्नुपर्छ । यदि बाङ्गो हेरेको जस्तो लाग्छ भने ढिला नगरी अस्पताल लैजानुपर्छ । किनकि यसको जति छिटो पहिचान त्यति छिटो निको हुन्छ ।

त्यस्तै, यो जुनसुकै उमेरमा पनि हुनसक्ने हुँदा वर्षको एकपटक बच्चाको आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ । ताकि, समयमै यसको पहिचान र उपचार हुन सकोस् ।

यसको उपचार कसरी हुन्छ ?

उपचार गर्नुअघि यसको कारण पत्ता लगाइन्छ । कारणअनुसार नै उपचार प्रक्रिया अघि बढ्छ । टेढो आँखाको सुरुको उपचार चस्मा लगाएर आँखाको दृष्टि ठीक गर्ने हो । दृष्टि ठीक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको टेढोपन हटाउन सकिन्छ । चस्माको पावर एउटा आँखामा कम र अर्कोमा बढी लगाउनु परेमा पावरलाई मिलाइन्छ ।

कसैमा टेढोपन देखिने र कसैको नदेखिने खालको टेढोपन हुन्छ । यस्तोमा चस्मामा प्रिज्म लगाएर ठीक पारिन्छ । प्रिज्मले कुनै पनि दृश्यलाई दुवै आँखाले एकै ठाउँमा देखिने बनाउँछ । दीर्घरोगले हो भने त्यस्ता रोगको पनि उपचार गर्नुपर्छ ।

आँखाको पर्दामा समस्याले गर्दा टेढोपन भएको हो भने त्यसकै उपचार गर्नुपर्छ । यदि ट्युमरको कारणले भएको भने शल्यक्रिया गरेर ट्युमर फाल्नुपर्छ । परिवारका अन्य सदस्यलाई पनि टेढोपनको समस्या छ र बच्चाको आँखामा जन्मजात नै टेढोपन देखियो भने त्यस्ता शिशुको आँखा दुई वर्षभित्रै शल्यक्रिया गर्नुपर्छ ।

यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेशी कमजोरी भई प्यारालाइसिस भएर आँखा टेढो भएको छ भने त्यस्ता बच्चाको आँखा थेरापी गराउनुपर्छ । थेरापीले पनि डेढोपन हटाउने गर्छ । हेर्न पनि असहज र देख्दा पनि असुहाउँदो देखिएमा अन्तिम विकल्प शल्यक्रिया हो । शल्यक्रियासँगै भिजन थेरापी गरेर ठीक गर्ने प्रयास गरिन्छ ।

समयमा उपचार भएन भने के हुन्छ ?

समयमा उपचार हुन नसक्दा एउटा आँखाले बिस्तारै कम देख्दै जाने मात्र होइन, आँखाको मांसपेशीमा कुनै गतिविधि नै हुँदैन, जसलाई अल्छी आँखा भनिन्छ । अल्छी आँखालाई १२ वर्षको उमेरमा ठीक पार्न सकिन्छ । तर त्यो उमेरपछि यसलाई ठीक पार्न कठिन छ ।

यस्तोमा आँखाको कस्मेटिक सर्जरीले आँखा सिधा पार्न सकिन्छ । तर दृष्टि फर्काउन सकिंदैन । यसो भनिरहँदा वयस्कमा पनि यसको उपचार सम्भव छ । तर के कारणले भएको हो त्यसमा भर पर्छ । यदि चोटपटकले गर्दा हो भने शल्यक्रियाले र मांसपेशीको थेरापीले ठीक पार्न सकिन्छ । स्नायुसम्बन्धी उच्च रक्तचाप र मधुमेहले तन्नेरी अवस्थामा टेढो भएको छ भने आँखामा समस्या हुनेबित्तिकै उपचार गरे ९० प्रतिशत ठीक हुन्छ । र, १० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

कति लाग्छ खर्च ?

टेढोपनको उपचार खर्च उपचारको किसिम र अस्पतालअनुसार फरक-फरक पर्न जान्छ । यस्तोमा औसतमा सम्पूर्ण उपचार खर्च एक हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्न सक्छ ।

एउटा आँखामा टेढोपन हुँदा अर्कोमा समस्या हुन्छ ?

पक्कै पनि एउटा मात्र आँखाले काम गर्नेबित्तिकै समस्या आउन सक्छ । किनभने दुवै आँखाले फरक-फरक दृश्य देख्छ । मस्तिष्कले दुवै फरक दृश्य छानेर एउटा आकृति बनाउँछ । जसमा रङ, दूरी र आकृतिको बनावट सुहाउँदो बनाउँछ । यस्तोमा एउटा आँखा मात्र काम गर्ने भयो भने रङ, दूरी र आकृतिको बनावटमा समस्या आउँछ । पहिला जति फराकिलो रूपमा धेरै कुरा एकै पटक देखिन्थ्यो भने एउटा आँखाले सीमित देख्छ ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech