किन दुख्छ टाउको ? रोकथाम र उपचार

    • डा.रीमा राजभण्डारी/ न्यूरोलोजिस्ट

  • ५ फाल्गुन २०८०, शनिबार

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाइलाई टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदीमा समवेदना शून्य (पेनरिक नहुनु) हुने हुँदा त्यो दुखे पनि हामीलाई महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशी संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै संवेदनशील भाग दुख्नु हो।

टाउको दुखाइ अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन्छ। यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ। टाउको दुखाइ आफैंमा रोग हो। साथै अन्य रोगको लक्षण पनि हुनसक्छ।  मेडिकल भाषामा टाउको दुखाइलाई दुई भागमा विभाजन गरिएको छः प्राइमरी र सेकेन्डरी।

अन्य कारणले नभएर आफैंमा दुखाइ हुनु प्राइमरी टाउको दुखाइ हो। जुन तनाव, माइग्रेन र क्लष्टरका कारण हुन्छ। तनावले (टेन्सन हेडेक) गर्दा टाउको दुख्छ। टाउको गह्रुंगो भइरहन्छ र महिनामा १५ दिनभन्दा बढी दुख्छ।

त्यसैगरी माइग्रेन हुँदा एकभाग मात्रै दुख्ने, सुरूमा विस्तारै र केही समयपछि दुखाइ बढ्दै जान्छ। टाउको हल्लाउँदा झनै बढी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, हाइ आउने, काममा बाधा पुग्नेगरी टाउको ब्लकब्लक हुन्छ। सेकेन्डरी टाउको दुखाइ कुनै रोगको कारणबाट हुन्छ।

जसले मस्तिष्क आवरण वा धमनीमा समस्या पैदा गर्छ र टाउको दुखेको अनुभूति गरिन्छ। जस्तैः मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, नाक/कान इन्फेक्सन, पिनासका कारण, मस्तिष्क ज्वरो, रगतको नसा ब्लक, ट्युमर र आँखाको कारण ग्लुकोमा।

यी कारणसँगै टाउको दुखाइलाई खानेकुराले पनि असर गर्छ। त्यसमा बढी गुम्साएर राखिएका खानेकुरा जस्तैः तामा, गुन्द्रुक, सिसीमा हालेका अचार, दही, मोही, कोक फ्यान्टा, पनिर र चिज बढी हानिकारक हुन्छन्।

कुहाएर खानेकुराले एक किसिमको तत्व बनाउँछन् जसले टाउको दुखाइ बढाउने गर्छ। बढीजसो व्रत बस्ने महिलालाई टाउको दुख्ने समस्या हुन्छ। यससँगै अत्यधिक जाडरक्सी सेवन गर्नेलाई यो समस्या हुन्छ।

कस्तो दुखाइ जटिल? 

उल्लेखित कारणले हुने कुनै टाउको दुखाइ जटिल पनि हुन सक्छन्। एकै साइडमा टाउको दुखिरहेमा हामी माइग्रेन भनेर बसिरहन्छौं तर निरन्तर दुखेमा त्यो जटिल हुने सम्भावना हुन्छ।

निरन्तर बेस्सरी दुखिरहे, टाउको दुखाइसँगै शरीरका अन्य अंगहरूलाई असर गरे, हातखुट्टा नचले, छारे रोगजस्तो देखिए र ज्वरो आए, ६० वर्ष नाघेका वृद्धवृद्धालाई एकापट्टि मात्रै टाउको दुखाइ जटिल हुनसक्छ। एक्कासि सहनै नसक्ने गरी टाउको दुखेको छ भने जटिल हुनसक्छ।

सामान्य टाउको दुख्दैमा पेनकिलर खाइहाल्नु हुँदैन। माइग्रेन हेडेक, टेन्सन हेडेकहरूलाई चिकित्सकले सामान्य नदुख्ने औषधि दिन्छन्। आधा टाउको दुखे तुरून्तै निको पार्न पेनकिलर नै खाने हो। साधारण तनावका कारण भएको हेडेकलाई प्यारासिटामेलले ठीक गर्छ।

महिनामा चार/पाँच पटकभन्दा बढी नियमित औषधि सेवन गर्दा ‘साइड इफेक्ट’ हुनसक्छ। कति समयमा खाने, कतिवटा खानेलगायतका विषयमा जानकार हुनुपर्छ।

माइग्रेनका कारण मौसमअनुसार टाउको दुखाइ फरक हुन्छ। माइग्रेन हुँदा टाउकोको आधा पाटो दुख्ने, वान्ता हुने, तिरमिराउने, आवाज सुन्न नचाहने हुन्छ। गर्मीमा बढी हिँड्दा माइग्रेन भएकालाई घामले प्रभाव पार्छ। चिसो, भीडभाड, गन्ध, चिन्ता,  ‘इन्भारोमेन्टल स्ट्रेस फ्याक्टर’ले पनि फरक-फरक किसिमको टाउको दुखाइ हुन्छ।

रोकथाम र उपचार

टाउको दुख्दा राहत महसुस गर्न मानिसहरू टाउकोमा कपडा वा रूमाल बाँध्ने गर्छन्। बाँधेर असुविधा हुँदैन तर दुखाइ कम गर्नलाई भने चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ। टाउको दुखाइको कारणअनुसार यसको उपचार पनि फरक हुन्छ। कतिपय अवस्थामा टाउको दुख्दा परीक्षण नै गरेर हेर्नुपर्छ।

सामान्य टाउको दुखाइ हुनेले समयमै खाना खाने, समयमै सुत्ने, अनिँदो नबस्ने, घाममा हिँड्दा चस्मा, क्याप लगाउने र सकेसम्म भीडभाडमा कम हिँड्नु पर्छ। टाउको निरन्तर दुखेमा अर्को उपचार हुन्छ। त्यस्तो दुखाइलाई तीनदेखि ६ महिनासम्म खाने औषधि दिइन्छ। जसबाट महिनामा धेरै दुख्नेको फ्रिक्वेन्सी घटाउन सकिन्छ।

यससँगै घरेलु उपाय ‘बायो फिटब्याक’, योग, शारीरिक व्यायामले धेरै हदसम्म टाउको दुख्न कम गर्छ। माइग्रेन हेडेक र टेन्सन हेडेक एकैपटक भएपछि जीवन खतरामा नभए पनि ‘क्वालिटी अफ लाइफ’ नै घटेर जान्छ। दैनिक टाउको दुखेमा गर्नुपर्ने जति काम गर्न सकिँदैन।

भएको जाँगरसमेत हराएर जान्छ जसले गर्दा सधैं यस्तै हुन्छ कि, कतै मानसिक समस्या त होइन भन्ने सोच आउनसक्छ। तर यसलाई मानसिक समस्याका रूपमा लिन जरूरी छैन। चिकित्सकको परामर्श लिनु नै उचित हुन्छ। यस्तो समस्याबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech