प्रधानमन्त्रीद्वारा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सामूहिक छलफल

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०८३, सोमबार

नेपालगन्ज: प्रधानमन्त्री बालेन शाहले आज विश्व विद्यालय र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू ‍सहभागी थिए ।

छलफलमा सहभागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक श्याम लम्सालका अनुसार त्यसक्रममा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले आ-आफ्नो संस्थाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

निमित्त उपकुलपति लम्सालले प्रधानमन्त्रीले गम्भीरतापूर्वक समस्याहरु सुनेको र कतिपय तत्कालै समाधान गर्न सकिने समस्या सम्बोधन गर्न निर्देशन दिएको स्वास्थ्यपेजलाई वताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानक निमित्त उपकुलपति प्राध्यापक श्याम लम्साल ।

लम्सालले आफ्नो प्रतिष्ठानका मुख्य तीनवटा विषयबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय शैयाको अस्पतालको वहुवर्षिय आयोजनाको स्रोत सुनिश्चितता गरिनु पर्ने कुरालाई आफुले प्राथमिकता साथ राखेको उनले बताए । प्रतिष्ठानलाई ७० करोड बजेट बिनियोजन भएको छ । तर स्रोतको सुनिश्चितता भने हुन सकेको छैन ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा खाली गराउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए । दाङको घोराहीस्थित प्रतिष्ठानको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको छ । यसैगरी वीमा भुक्तानी लाई सहज बनाउन पनि आफुले प्रधानमन्त्री समक्ष कुरा राखेको उनले स्वास्थ्यपेजलाई बताए ।

`प्रधानमन्त्री ज्युले गम्भीर ढंगले हाम्रा समस्याहरु सुन्नु भयो । कतिपय सवालमा दोहोरो संवाद पनि गर्नु भयो उनले भने-`अहिले सरकारको शासकीय सुधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।´

छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरु सहभागी थिए । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पनि सहभागी थिए ।

विश्व विद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, ​नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरु सहभागी थिए ।

यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गरेका हुन् ।

  • ७ बैशाख २०८३, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech