नेपालगन्जः सल्यानको दार्मा गाउँपालिकामा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तथा नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रसहित विभिन्न स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
स्थानीयबासीहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वडा-वडामा शिविर राखिएको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
छ दिनसम्म पालिकाका विभिन्न वडामा सञ्चालन हुने शिविरअन्तर्गत आज पहिलो दिन दार्मा गाउँपालिका–३ स्थित दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

शिविरमा नसर्ने रोगहरूको पहिचान तथा उपचार, कानसम्बन्धी समस्या भएका बिरामीहरूको जाँच र उपचार, आँखाको दृष्टि परीक्षण, रोग पहिचान, उपचार तथा रिफरल सेवा प्रदान गरिएको उनले बताए ।
पहिलो दिनको शिविरमा १५९ जनाले निःशुल्क सेवा लिएका छन् । जसमध्ये ६२ जनाले कानसम्बन्धी उपचार, ९१ जनाले आँखासम्बन्धी सेवा तथा ९० जनाको सुगर, प्रेसर र पिसाब जाँच गरिएको छ । साथै, एआई प्रविधिबाट क्षयरोग पहिचानका लागि गरिएको फोक्सोको एक्स–रेमा ११६ जनाको परीक्षण गर्दा १९ जना शंकास्पद फेला परेका छन् ।
भोलि सोमबार वडा नं. ५ स्थित ढाकाडाम स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिनेछ ।







