नवजात शिशुको आँखा पाकेमा के गर्ने ?

    • प्रा. डा. सबिना श्रेष्ठ

  • ४ फाल्गुन २०८०, शुक्रबार

नवजात शिशुलाई धेरै सताउने रोगमध्ये आँखा पाक्ने समस्या पनि एक हो । उनीहरुलाई कुनै न कुनै समयमा आँखा पाक्ने समस्याले सताएकै हुन्छ ।

त्यसमाथि पनि अहिले प्रकोप जसरी बढिरहेको आँखा पाक्ने समस्याले नवजात शिशु प्रभावित बनेका छन् । यस्तोमा शिशुलाई आँखामा हुने संक्रमणबाट जोगाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

कारण

बाह्य जीवाणु र भाइरसको सम्पर्कमा आएपछि नवजात शिशुको आँखामा संक्रमण हुन सक्छ । शिशु तथा बालबालिकामा प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा छिटो संक्रमण हुने सम्भावना उच्च रहन्छ । जसकारण अभिभावकलाई आँखा पाक्ने समस्या छ भने शिशुमा सर्ने सम्भावना अत्यधिक रहन्छ । विशेषगरी गर्भवती आमाबाट सर्ने सम्भावना बढी हुन्छ ।

साथै, संक्रमित आमाले आँखामा छोएमा, प्रसूतिका क्रममा शिशुको आँखामा चोटपटक लागेमा पनि शिशुमा यस्तो समस्या देखिन सक्छ ।

कसरी थाहा पाउने ?

आँखा रातो हुने, चिप्रा आउने, आँखाबाट आँसु बग्ने, आँखा सुन्निने, पटकपटक आँखा, चिलाएर हात लगिरहने, आँखा बिजाएर रुने जस्ता लक्षण देखिन सक्छ ।

रोकथाम तथा उपचार

-आँखा पाक्ने बित्तिकै अस्पताल लैजानुपर्छ । चिकित्सकले आँखाको अवस्था हेरेर औषधि उपचार दिन सक्छन् ।

-नवजात शिशु होस् वा बालकहरुमा चिकित्सकको सल्लाहमा औषधि पटकपटक हाल्नुपर्छ । तर जथाभावी व्यस्कलाई हाल्ने औषधि भने नवजात शिशुको आँखामा हाल्दिनु हुँदैन ।

-औषधि हालेपछि आफ्नो हात पनि साबुनपानीले धुनुपर्छ ।

-आँखामा जतिपटक छोइन्छ, त्यतिपटक सफा गर्नुपर्छ ।

-अहिले देखिएको संक्रमण मन्द किसिमको भएकाले एक सातामा ठीक हुन्छ ।

जटिलता

आँखा पाक्ने समस्या हुँदा हेरचाह भएन भने नवजात शिशुको आँखाको नानीलाई असर गर्न सक्छ । आँखाको नानीलाई असर गरेमा दृष्टि धमिलो हुन सक्छ । यदि आँखाको नानीलाई असर गरेको छ भने तीन महिना समय निको हुन लाग्छ ।

कसरी जोगाउने ?

-व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

-आँसुको माध्यमबाट पनि सर्ने हुँदा रुमाल अरुलाई प्रयोग गर्न नदिनुपर्छ ।

-भीडभाड भएको ठाँउमा नलैजाने गर्नुपर्छ ।

-पौष्टिक आहार पर्याप्त मात्रामा दिने ताकि रोगसँग लड्ने क्षमता बढोस् । यसबाहेक समय-समयमा डाक्टरको जाँच गराउनाले बालबालिकामा हुने आँखाको संक्रमणको जोखिम कम गर्न धेरै मद्दत मिल्छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech