गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ, यसको उपचार के छ ?

    • डा. खुश्बु गोयल/दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ

  • १ फाल्गुन २०८०, मंगलवार

गिजा हाम्रो दाँतको लागि सुरक्षात्मक कवच हो  । यदि गिजामा कुनै प्रकारको रोग लागेमा यसले हाम्रो दाँतको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस कारणले गर्दा गिजा स्वस्थ रहनु धेरै महत्वपूर्ण छ । गिजा पाक्ने, दुख्ने समस्या दाँतको उचित हेरचाह नगर्दा हुने समस्या हो । गिजाको रोग पहिल्यै पत्ता लगाउन सकिँदैन तर केही समयपछि गिजा दुख्न थाल्छ ।

गिजाको समस्या किन हुन्छ ?

गिजाको समस्या निम्तने प्रमुख कारण दाँत तथा गिजामा अड्किएको फोहोर हो । हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ । केही सेकेन्डमा नै पातलो तह बन्दछ ।  यस प्रक्रिया २–४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ । यही दन्ते लेउ नै गिजा सम्बन्धी समस्याको मूल कारण हो ।

यदि दन्ते लेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा ‘क्याल्कुलस’ दन्ते पत्थरमा बद्लिन्छ, जुन एकदमै कडा हुन्छ ।  उक्त दन्ते पत्थरले अझै धेरै दन्ते लेउ जम्मा गराउन मद्दत गर्छ । जसले गर्दा गिजाको संक्रमण देखा परेर गिजाबाट रगत आउने, गिजा दुख्ने हुन्छ । जुन पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ । त्यो रोगले गिजा यति कमजोर हुन्छ कि, दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ ।

गिजाको समस्या हुँदा देखा पर्ने लक्षणहरू

गिजाको रंग बिस्तारै बद्लिदै रातो हुनु, गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा गिजा नचलाउँदा पनि आफैं रगत आउनु, गिजा क्रमशः सुन्निदै जानु  आदि गिजाको समस्याको लक्षणहरू हुन् ।

यसको उपचार के छ ?

यदि गिजा सम्बन्धी कुनै समस्या देखा परे दन्त चिकित्सककोमा गएर गिजामा जम्मा भएको दन्त लेउ र दन्ते पत्थरलाई सफा गर्नुपर्छ । जम्मा भएर बसेको फोहोर सफा भएपछि गिजाको समस्या ठिक हुन्छ ।

गिजासम्बन्धी जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।  गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको, आदि अवस्थाहरूमा शल्यक्रिया गर्नुपर्छ ।  यसको लागि गिजा रोग विशेषज्ञ दन्त चिकित्सक सँग परामर्श गर्नुपर्दछ ।

गिजालाई स्वास्थ्य राख्न के गर्न सकिन्छ ?

दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्दा फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउँछ ।  दाँत माझ्नुको साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिँदैन ।

दाँतको बिच-बिचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ ।

खानेकुराहरूमा पनि ध्यान दिनुपर्छ ।  दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ ।

सकेसम्म वर्षको दुई पटक ६-६ महिनाको फरकमा वा कम्तीमा पनि वर्षमा एक पटक दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुको साथसाथै दाँत सफा गराउनु पर्छ ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech