कानमा समस्या भएकाहरू किन चर्को बोल्छन्?

    • डा. तोरण केसी/वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ

  • २२ माघ २०८०, सोमबार

कानलाई तीन भागमा विभाजन गरिन्छ। पहिलो भाग भनेको बाहिरबाट देखिने प्वाल हो। बाहिरको भागले आवाज एकीकृत गर्छ।प्राणीअनुसार कानको बाहिरी भाग बनेको हुन्छ। जस्तो हात्तीको कान ठूलो हुन्छ, उसले धेरै आवाज जम्मा गर्न सक्छ। परापूर्वकालमा मान्छेको कान पनि ठूलो थियो भनिन्छ। पछि सानो हुँदै आएको भनिन्छ।

अर्को भनेको कानको बीचको भाग हो। यो कानको पर्दापछाडि हुन्छ। त्यसलाई हामी एयरड्रम भन्छौं। कानको तेश्रो भाग भित्र हुन्छ जुन मस्तिष्कसँग जोडिएको हुन्छ। कानमा बाहिर कुनै समस्या आयो, कानेगुजी आयो भने सुनाइ कम हुन्छ। कानमा कुनै संक्रमण भयो भने पनि सुनाइ कम हुन्छ। कानको बीचको भागमा संक्रमण भयो, ट्युमर भयो भने पनि त्यस्तै हुन्छ।

भित्री कानमा समस्या आयो भने नशा सुक्ने समस्या हुन्छ। कानको सुरू र बीचको भागमा सुनाइ कम भयो भने कानेगुजी सफा गरेर या अन्य उपचारको पद्धतिले ठीक पार्न सकिन्छ।भित्री कानमा समस्या आयो ठीक हुन गाह्रो हुन्छ। कानको चालमा, आवाज भित्र जान सक्ने क्षमतामा ह्रास आएर सुन्न नसक्ने हुन्छ भने भित्री कानमा समस्या आएर अर्थात् नशा सुकेर नसुन्ने हुन्छ।

कान नसुन्ने समस्या भएको उमेर अनुसारको लक्षण देखिन्छ। बच्चालाई कान नसुन्ने समस्या छ भने थाहा पाउन गाह्रो हुन्छ। यसका लागि बच्चाको अभिभावकले थाहा पाउनुपर्छ। बोलाउँदा बोलेन, अस्वाभाविक चाल देखायो भने थाहा पाउन सकिन्छ। एउटा कानमा मात्रै समस्या छ भने थाहा पाउन झन् गाह्रो हुन्छ।

सुनाइमा समस्या भएकाहरूले आफूले बोलेको समेत नसुन्ने भएकाले चर्को बोल्छन्। दुइटै कानको नशा सुक्यो भने आफूले बोलेको आवाज मस्तिष्कमा पुग्न ढिलो हुन्छ। तीस प्रतिशत या त्योभन्दा धेरै नशा सुक्यो भने आफूले बोलेको अरूले सुनेन होला भन्ने पर्छ। त्यसैले चर्को गरी बोल्छन्।

यस्तो समस्या हुँदा यस्तै लक्षण आउँछ भनेर ठ्याक्कै भन्न सकिँदैन। त्यसका लागि परीक्षण नै गर्नुपर्छ। परीक्षण गरेपछि मात्रै कस्तो उपचार गर्ने भनेर थाहा पाउन सकिन्छ। सामान्यतया यस्ता बिरामीलाई हामीले ओपिडीमा हेर्नासाथ थाहा पाउँछौं। बाहिरी कान र बीचको कानमा कुनै संक्रमण छ, मासु पलाएको छ भने उपचार गरेर सुन्न सक्ने क्षमता बढाउन सकिन्छ। तर नशा सुकेको छ भने सकिँदैन।

भविष्यमा कुनै समस्या नआओस् भनेर कानको संक्रमणको अपरेसन गर्नुपर्छ। सुनाइ कम छ भने बाहिर मेसिन लगाउन सकिन्छ। यसका लागि थुप्रै खालका प्रविधि आइसकेका छन्।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech