तराईमा शीतलहरको असर र बच्ने उपाय

    • डा.देवेन्द्र आचार्य/ जनरल फिजिसियन

  • १३ माघ २०८०, शनिबार

१) शीतलहर भनेको के हो ?
– शीतलहर भनेको प्रदूषित हावा र पानी बाफ अथवा बरफको सानोसानो कणकोे समिश्रण हो । यसलाई जमिनको सतहसँग छुने बादलको रुपमा पनि मानिने गरिन्छ । तराईमा जाडोमा हुस्सु लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने र नसुकेर ओसिलो भइराख्ने मौसमी अवस्था हुन्छ, यसलाई पनि शीतलहर भनिन्छ ।

२) शीतलहर किन र के कारणले पर्दछ ?
– शीतलहर जब वातावरणको हावाको तापक्रम र वातावरणमा रहेको पानीको बाफको बीचको तापक्रम २.५ डिग्री भन्दा कम हुन जान्छ त्यसपछि पर्ने गर्दछ । विभिन्न अध्ययनका अनुसार भारत, बङ्गलादेश, नेपालका मैदानी भू–भागमा हुने शीतलहर वायु प्रदूषणका कारण हो भन्ने कारण पाइन्छ भने नेपालमा हालसम्म यसको अध्ययन हुन सकेको छैन ।

३) शीतलहरमा के के हुन्छ ?
– शीतलहरमा प्रदुषित हावा, धुलाका साना-साना कणहरु र पानीको बाफ मिसिएको हुन्छ ।

४) शीतलहरले मानिसको स्वास्थ्यमा के कस्ता असरहरु गर्ने गर्दछ ?
-श्वासप्रश्वास प्रणालीमा मात्र नभएर शीतलहरले गर्दा शरीरका विभिन्न अंगहरुमा समस्याहरु हुने गर्दछन् ।
– बच्चाहरु, बृद्धहरु, गर्भवती एंवम् सुत्केरी महिलाहरु तथा रोग प्रतिरोधमक क्षमता कम भएका मानिसहरुमा निमोनिया, दम रोग र श्वासप्रश्वास नलि र फोक्सोमा किटाणुको संक्रमणको जोखिम बढ्ने गर्दछ र जसको कारणले मृत्युसम्म हुने गर्दछ ।
-मानिसहरुमा नाक, मुख तथा आँखामा शीतलहर र चिसोको कारण एलर्जीहरु हुने गर्दछ ।
-शीतलहरसँगै बढेको चिसोको कारणले मानिसहरुमा मौसमी फलु देखिएर लामो समयसम्म रुघाखोकी भईरहने गर्दछ ।
– शीतलहरसँगै बढेको चिसोको कारणले विशेषगरि उच्च रक्तचापका बिरामीहरुमा दिमागको पक्षघात र हृदयघातको जोखिम बढ्ने गर्दछ ।
– शीतलहरसँगै बढेको चिसोले गर्दा विभिन्न भाइरसहरुको संक्रमणले झाडापखला लाग्ने, पेट दुख्ने र पेट कटकटी खाने जस्ता पेट सम्बन्धि समस्याहरु देखिने गर्दछ ।
– छालमा फुस्रो पना बढ्नाले विभिन्न प्रकारका छालामा लाग्ने रोगहरु लाग्ने संभावना हुन्छ ।

५) शीतलहरले मानिसको स्वास्थ्यमा असर गरेमा के–कस्ता लक्षणहरु देखिन्छ ?
– नाक बन्द हुने र नाकबाट लगातार सिगान बगिरहने ।
-लामो खोकी लागिरहने र खोकीमा खकार पनि देखिने ।
-खोक्दा छाती दुख्ने ।
– टाउको दुखिरहने र मन्ध गतिमा भारी भइरहने ।
-ज्वरो आउने र हाछिउ–हाछिउ आइरहने ।
-श्वास फेर्दा गाह्रो हुने र आवाज आउने ।
-आँखाबाट पानी बग्ने र आँखा पोल्ने ।
-बच्चाहरुमा कोखा हान्ने र श्वास फेर्दा घयार् घयार् आवाज आउने ।
-छालामा फुस्रोपना देखिने ।

६) शीतलहरबाट कसरी बच्ने ?
-अत्यावश्यक काम बाहेक सकभर शीतलहरको बेला घर बाहिर ननिस्कने ।
-तातो झोलिलो पदार्थहरुको प्रयोग गरेर शरीरको तापक्रम कायम राख्ने ।
-शरीर ढाकिने गरि न्यानो कपडाको प्रयोग गर्ने ।
– घरबाट बाहिर निस्कनु परेमा टाउको र मुख ढाकिने गरि मास्क र टोपी अनिवार्य रुपमा प्रयोग गर्ने ।
-दिर्घ रोगी, गर्भवती एवंम् सुत्केरी महिलाहरु, बच्चाहरु र बृद्धहरुले नियमित रुपमा लगाउने भ्याक्सिन र औषधीहरुको सेवन गरि विशेष ख्याल गर्ने ।
– सामान्यतय रुघाखोकी लागि हालेमा साझ सुत्नुपूर्व तातो पानीको बाफ अनिवार्य रुपमा लिने ।
– ताजा र तातो खाने कुराहरुको सेवन गर्ने र यस्ता खाने कुराहरुमा बढी प्रोत्साहन गर्ने ।
-छालालाई फुस्रोपना बाट बचाउन छालामा नरिवलको तेल अथवा भ्यासलिनको प्रयोग गर्ने ।
-धुम्रपान र मध्यपानको प्रयोग नगर्ने ।
-घरभित्रै बसेर शरीरक व्यायम तथा कसरत गर्ने ।
-लगातार लामो समयसम्म रुघाखोकी लागेमा, हाछिउ–हाछिउ आएमा, ज्वरो नरोकिएमा तुरुन्तै नजिकैको चिकित्सकसँग परामर्श गरेर उपचार गर्ने ।

(कोहलपुर नगरपालिका–२ निवासी डा. आचार्य नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत हुनुहुन्छ ।)

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech