खानामा बढी नुनको सेवनले निम्त्याउँछ यस्ता स्वास्थ्य समस्या

    • स्वास्थ्य पेज

  • २७ पुष २०८०, शुक्रबार

खानामा प्रयोग हुने विभिन्न सामग्रीमध्ये  एक हो, नुन । नुनबिनाको दाल, तरकारी, अचारको खासै स्वाद हुँदैन । नुनको मात्रा मिलाएर खाँदा स्वास्थ्यलाई फाइदाजनक हुन्छ । तर, त्यही नुनलाई अत्यधिक प्रयोग गर्दा भने स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन् ।

कतिपय मानिस नुन कम भएको तरकारी खानै सक्दैनन् । भागमा थपी–थपी भए पनि नुन बढी खान्छन् । तर, नुन भन्ने चिज ठिक्क खानु पर्छ । हिजोआज विश्वभर धेरैजसो मानिस शरीरलाई आवश्यक पर्नेभन्दा धेरै नुन खाइरहेका छन् । यसको असर प्रत्यक्ष उनीहरूको स्वास्थ्यमा परिरहेको छ ।

धेरै नुन खानु प्राणघातक हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अधिकांश मानिसहरू दैनिक रुपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन् । यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओले जनाएको छ ।

धेरैजसो मानिसलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै हेक्का राख्दैनन् । तपाईँले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ? छ भने आफ्नो बानी तत्काल परिवर्तन गर्नुहोस् ।

डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कले दिनमा १० दशमलव ७८ ग्राम नुन खाइरहेका छन् । यो भनेको दुई चम्चा बराबर हो । यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ । यो चाँहि दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो । यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ ।

धेरै मात्रामा नुन खाँदा मानिसमा प्राणघातक रोगको खतरा बढ्छ । डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ । एक चम्चा (५ ग्राम) नुनमा यति सोडियम पाइन्छ । अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा एक चम्चाभन्दा धेरै नुन खानु हुन्न ।

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech