अभिभावकले बालबालिकालाई चिसोबाट कसरी बचाउन सक्छन्?

    • स्वास्थ्य पेज

  • २३ पुष २०८०, सोमबार

चिसो मौसम बालबालिकाको लागि कत्तिको जोखिमपूर्ण मानिन्छ?
– समग्रमा बालबालिकाका लागि चिसो र गर्मी दुवै मौसम जोखिमपूर्ण भन्ने हुँदैन।
– मौसमको हिसाबले हेर्दा चिसोभन्दा गर्मीमा बालबालिकाहरु उपचारका लागि बढी आउँछन्।
– तर कुनै रोग हुन्छन्, जसले जाडो मौसममा मात्र बालबालिकालाई सताउँछ।

बालबालिकालाई चिसोमा सबैभन्दा बढी सताउने रोगहरु के के हुन्?
– रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखालाले जाडोमा बालबालिकालाई बढी सताउँछ।
– झाडापखाला गर्मीमा धेरै हुन्छ, तर जाडोमा एउटा विशेष प्रकृतिको झाडापखाला हुन्छ।
– यी तीन वटामा पनि रुघाखोकीजन्य समस्या प्रमुख रुपमा देखिन्छन्।

रुघाखोकीजन्य समस्याले चिसोमै बालबालिकालाई किन बिरामी पार्छ?
– रुघाखोकी गराउने किटाणु चिसोमा बढी सक्रिय हुन्छ।
– यो किटाणु जाडोमा लामो समयसम्म पनि बाँच्न सक्छ।
– चिसोमा बालबालिकाहरु एकै ठाउँमा बस्ने, खेल्ने हुँदा रोग सर्ने संभावना बढी हुन्छ।
– चिसोमा घरभित्र हुने प्रदूषण पनि बढी हुने भएकाले रोग फैलन सहयोग पुग्छ।
– चिसोमा सरसफाईमा कमी हुने भएकाले पनि रुघाखोकीजन्य समस्या बढी देखिन्छ।

कस्ता बालबालिकाहरु रुघाखोकीजन्य समस्याको बढी जोखिममा पर्छन्?
– रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका बढी जोखिममा पर्छन्।
– कुपोषण भएका, पूर्ण खोप नलगाएका, सरसफाईमा कमी भएका बालबालिका पर्छन्।
– एकै ठाउँमा धेरै मानिस बस्ने ठाउँका बालबालिकालाई पनि यो समस्याले सताउँछ।

रुघाखोकीजन्य समस्याले सताउँदा देखिने मुख्य लक्षणहरु के के हुन्?
– अभिभावकले मुख्य रुपमा ध्यान दिनुपर्ने कुरा नै यही हुन्।
– रुघाखोकी बिग्रियो भने निमोनिया हुन्छ।
– सामान्य खोकी र सिगान आउँदैमा अभिभावकहरु आतिहाल्नु पर्दैैन।
– रुघाखोकीसँगै सास फेर्न गाह्रो भए, सास फेर्दा कोखा हानेमा, ज्वरो आएमा, राम्ररी खान नसके, बच्चा सुस्त भए आत्तिनुपर्छ।

समयमै उपचार नगरे रुघाखोकीजन्य समस्याले निम्ताउने जटिलताहरु के के हुन्?
– रुघाखोकीलाई समयमै उपचार नगरे फोक्सोको संक्रमण अर्थात् निमोनिया गराउँछ।
– निमोनिया बिग्रियो भने शरीरको अन्य अंगहरुमा असर गर्छ।
– समयमै उपचार नपाए बच्चाको मृत्यु समेत हुन सक्छ।

अभिभावकले बालबालिकालाई चिसोबाट कसरी बचाउन सक्छन्?
– चिसोमा पोषणयुक्त खानेकुरा दिनुपर्छ।
– तातो बनाउने कपडा लगाई दिनुपर्छ। लामो, हावा नछिर्ने कपडा लगाई दिनुपर्छ।
– बच्चा भएको घरमा सबै एकै ठाउँमा गुम्सिएर आगो ताप्ने, हिटर बाल्ने गर्नु हुँदैन।
– सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै खोपको मात्रा पुरा गर्नुपर्छ।
– रुघाखोकी लाग्दा अभिभावकले आफूखुसी औषधि किनेर दिनु हुँदैन।
– कुनै रुघाखोकी औषधि नै नचाहिने खालका पनि हुन्छन्।
– आफुखुसी औषधि खुवाउँदा शरीरमा नकारात्मक असर पर्न सक्छ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech