जोर्नी खिइने समस्या बढ्दै,  किन खिइन्छ जोर्नी, के छ उपचार ?

    • डा. नवीन पौडेल/ अर्थोपेडिक सर्जन

  • १६ पुष २०८०, सोमबार
शरीर जति बुढो हुँदै जान्छ । त्यति नै बिस्तारै शरीर कमजोर हुँदै जान्छ । यस्तोमा खानपान तथा जीवनशैलीमा ध्यान दिएन भने झन् छिट्टै रोगले गाँज्छ । उमेर बित्दै गएपछि सबैभन्दा बढी सताउने समस्यामध्ये एक जोर्नी खिइने समस्या हो । जोर्नी खिइएमा शरीरलाई चुस्त ढंगले चलायमान राख्ने र हड्डीको संरक्षण गर्ने जोर्नीको कार्यमा बाधा पुग्छ । र, कालान्तरमा जोर्नीले काम गर्न सक्दैन । शरीरको कार्यसञ्चालन नै प्रभावित हुन्छ ।
विश्वव्यापी रुपमा तीव्र गतिमा बढ्दै
जोर्नी खिइने समस्याले विश्व नै प्रभावित छ । हाल विश्वका ५५ वर्ष वा सोभन्दा माथिका ८० प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको जोर्नी खिइने समस्याबाट पीडित छन् ।
‘द ल्यान्सेट रुमाटोलोजी’ जर्नलमा प्रकाशित अध्ययनका अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस ओस्टियोआर्थराइटिस वा जोर्नी दुख्ने समस्याबाट पीडित हुने अनुमान गरिएको छ ।
जम्मा २०० देशको ३० वर्षको अध्ययनले जोर्नी खिइने समस्याको तथ्यांकमा विश्लेषण गरिएको थियो । सन् १९९० मा २५ करोड मात्र यस समस्याबाट पीडित थिए भने २०२० मा १३२ प्रतिशतले बढेर साढे ५९ करोडमा यो समस्या देखियो ।
विगत तीन दशकमा केसहरू तीव्र रूपमा बढेको तीन मुख्य कारक उमेर, जनसंख्या वृद्धि र मोटोपन रहेको अध्ययनले उल्लेख गरेको छ ।
जोर्नी खिइनु भनेको के हो ?
कुनै कारणवश जोर्नीको तन्तुहरु, त्यहाँको मांसपेशी र कुरकुरे हड्डी पातलिंदै जानुलाई बोलीचालीको भाषामा जोर्नी खिइएको भनिन्छ । यसलाई चिकित्सकीय भाषामा यसलाई ‘ओस्टिओ आथ्र्राइटिस’ भनिन्छ ।
यो समस्याले उमेर ढल्किंदै गएपछि बढी सताउँछ । महिलामा यो समस्या प्रायः रजनोवृत्तिपछि (महिनावारी सुकेपछि) हुनसक्छ । पुरुषमा ६०-७० वर्षको उमेरपछि जोर्नी कमजोर हुन थाल्छ ।
यद्यपि, धेरै उकालो-ओरालो हिंड्ने, लामो समयसम्म निहुरिएर काम गर्ने, अत्यधिक तौल उठाउने र भारी बोक्ने व्यक्तिमा यो समस्या उमेरअगावै पनि देखिनसक्छ ।
कसरी जोर्नी खिइन्छ ?
जोर्नीको वरपर मांसपेशीहरु हुन्छन् । जसको काम जोर्नीहरुलाई आड दिएर सन्तुलनमा राख्नु हो । जब मांसपेशी कमजोर हुँदै जान्छ तब जोर्नी बसेको ठाँउको सन्तुलन बिग्रिन्छ । र, कुरकुरे हड्डी कमजोर हुँदै पातलिन्छ । दुई हड्डीलाई अड्याएर कुसनको रुपमा बसेको कुरकुरे हड्डी पातलिएपछि हड्डीबीच घर्षण हुन थाल्छ । घर्षण हुँदै गएपछि हड्डीको छेउछेउमा नयाँ हड्डी पलाउँछ । र, जोर्नीभित्र रहेको एक प्रकारको तरल पदार्थ ‘साइनोभियल फ्लुईड’ हड्डीहरुमा पसेर सिस्ट (मासुको डल्ला) बन्न थाल्छ । र, हड्डीबीच देखिनुपर्ने अन्तर हराएर जोडिएको जस्तो देन्छि । यो नै जोर्नी खिइने प्रक्रिया हो ।
शरीरमा भएको कुनै पनि जोर्नी खिइन सक्छ । तर सबैभन्दा बढी शरीरले भार थेग्ने भागको जोर्नीहरु जस्तै घुँडा, मेरुदण्ड र कम्मरको जोर्नी खिइन्छ । धेरैलाई सताउने समस्या नै यही हो ।
बुढयौलीमा किन बढी खिइन्छ ?
मानिसको उमेर बढेसँगै शरीरका अंगहरुको कार्य क्षमता घट्दै जान्छ । दाँतको जराले ठाँउ छाडेर दाँत झरेको जस्तै, बिस्तारै हाड तथा जोर्नी र शरीरको मांसपेशी पनि कमजोर हुँदै जान्छन् । यी अंगमा क्षति हुँदै गएमा बिस्तारै जोर्नी खिइन सक्छ । यस्तोमा सामान्य चोटपटक लाग्दा पनि जोर्नी खिइन सक्छ । यसको मुख्य कारण बुढयौली भए पनि शतप्रतिशत सबैमा हुन्छ भन्ने हुँदैन ।
अन्य कारण
-एउटै जोर्नी आवश्यकभन्दा बढी बारम्बार प्रयोग भइराख्नु वा शरीरले थाम्नै नसक्ने गरी भार उठाउने काम गर्नु ।
-जोर्नीमा क्षयरोग जस्ता संक्रमण भई कुरकुरे हड्डीमा असर गर्नु ।
-बाथ तथा युरिक एसिड बढेर जोर्नीको झिल्लीमा असर गरेमा ।
-चोटपटकका कारण रक्तधमिनीमा क्षति पुगेर रक्तसञ्चार नभएमा ।
-धुम्रपान तथा मदिरापान अत्यधिक गर्नु । यसमा हुने हानिकारक निकोटिनले जोर्नीलाई कमजोर बनाइदिन्छ ।
जोर्नी खिइएपछि देखिने समस्या
जोर्नी खिइने सुरुवात भएसँगै हल्का दुखाइ सुरु हुन्छ । बिस्तारै जोर्नी खिइएको भाग जाम भई चलायमान राख्न कठिन हुन्छ । जसकारण दैनिक रुपमा गर्ने काम गर्न पनि नसक्ने हुन्छ । जस्तै, पलेंटी कसेर बस्दा,  हिंडडुल गर्दा, बसेपछि उठ्नै नसक्ने, काम गर्दा, भर्‍याङ चढ्दा वा ओर्लिंदा असहज हुन्छ । जोर्नी दुख्ने क्रम यथावत रहेमा त्यो दुखाइ बढ्दै जान्छ र सहनै नसक्ने अवस्था हुन्छ ।
जोर्नी खिइने समस्या बढ्दै गएमा डिप्रेसन समेत गराउन सक्छ । किनकि दैनिक काम गर्न नसक्ने अवस्थामा अरुमा भर पर्नुपर्ने र सहन नसक्ने दुखाइ हुने जस्ता समस्याबारे सोच्दा शारीरिक दुखाइ त छँदैछ मानसिक समस्या समेत देखिने गरेको छ ।
स्पाइनको जोर्नी खिइएमा ढाड दुख्ने, खिइँदै गएपछि ढाडको नसा च्यापिने र गम्भीर रुपमा लिंदै गएमा हातखुट्टालाई असर गर्न सक्छ ।
पहिचान
यसको पहिचानको लागि एक्सरे, एमआरआई, सिटिस्क्यान, डेक्जा स्क्यान र अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
उपचार
जोर्नी खिइने समस्याको उपचार कति खिइएको छ भन्नेमा भर पर्छ । जोर्नी खिइने समस्या सुरुवाती चरणमा घरेलु उपचार गर्न सकिन्छ । यदि खिइन सुरु मात्र गरेको छ भने घरमै खानपान र जीवनशैलीमा ध्यान दिए केही हदसम्म निको पार्न सकिन्छ । जस्तै, फिजियोथेरापी गर्ने, शारीरिक व्यायाम गर्ने, पानी पर्याप्त मात्रामा पिउने, भिटामिनयुक्त खानेकुरा खाने, चिकित्सकलाई देखाएर आवश्यक परे क्याल्सियमको सप्लिमेन्ट खाने, दुखाइको महसुस भए खाने र लगाउने औषधि प्रयोग गर्नुपर्छ । तर कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन ।
मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड खोप दिइन्छ । यसले सुन्निएको र खिइएको जोर्नी कम गर्न मद्दत गर्छ । मेडिकल फुटवेयरले पनि केही हदसम्म घुँडाको समस्या कम हुनसक्छ ।
त्यस्तै, चोटपटक तथा युरिक एसिडको समस्याले हो भने त्यसलाई पनि व्यस्थापन गर्नुपर्छ । यदि यी उपचारले पनि असर नगरेमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।
जोर्नी प्रत्यारोपण कसरी गरिन्छ ?
जोर्नी खिइएको समस्याको अन्तिम र एक मात्र विकल्प प्रत्यारोपण हो । प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर त्यसको ठाउँमा धातुको (कृत्रिम) जोर्नी राख्नु हो । प्रत्यारोपण गरेपछि १५ देखि २० वर्षसम्म जोर्नीको कार्य प्राकृतिक जोर्नीले जस्तै सहज ढंगले गर्न सक्छ ।
यद्यपि, तत्काल संक्रमणमा रहेको जोर्नीको प्रत्यारोपण गर्न सकिंदैन । संक्रमण भएमा औषधिले संक्रमण हटाएर मात्र गर्न सकिन्छ ।
कति खर्च लाग्छ ?
जोर्नी प्रत्यारोपण गर्दा कस्तो खालको जोर्नी राख्ने भन्ने कुराले फरक पार्छ । सामान्यतया दुईदेखि तीन लाख रुपैयाँमा जोर्नी प्रत्यारोपण गर्न सकिन्छ ।
जोर्नी कमजोर हुन नदिन के गर्ने ?
-शारीरिक व्यायाम गर्ने
-जोर्नीलाई हानि गर्ने र जोखिम पुर्‍याउने कारक तत्वबाट टाढा रहने
-एकदमै कडा शारीरिक श्रम नगर्ने
-शरीरले थाम्न नसक्ने तौल नउठाउने
-भिटामिन, फस्फोरस र क्यालसियमयुक्त खानेकुरामा जोड दिने
-र, जोर्नीमा संक्रमण भएमा तत्काल उपचार गर्ने

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech