आयुर्वेदिक औषधि साइड इफेक्टरहित हुन्छ भन्ने होइन

    • डा. निर्मल भुसाल /वरिष्ठ आयुर्वेद पञ्चकर्म विशेषज्ञ

  • २१ मंसिर २०८०, बिहीबार

सदियौंदेखि प्राकृतिक औषधि र जडीबुटीबाट विभिन्न रोगहरूको उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले विज्ञानसँग जोडेर ।

आयुर्वेदिक औषधि प्राकृतिक रुपमा जडिबुटीबाट तयार गरिन्छ । त्यसैले कतिपय भनिरहेका हुन्छन्, ‘यस्तो औषधिको कुनै खराब असर हुन्न ।’ जबकि बजारमा छ्यापछ्याप्ती आयुर्वेदिक औषधि उपलब्ध छन् । यी औषधिहरु आँखा चिम्लेर खान मिल्छ ?

तर, आयुर्वेदिक औषधि साइड इफेक्टरहित हुन्छ भन्ने होइन । यसको सही प्रयोग, सही व्यक्तिका लागि, सही ढंगले हुनुपर्छ । नभए आयुर्वेदिक औषधिले पनि हानि गर्न सक्छ ।

कुनैपनि चिकित्सकले आयुर्वेदिक औषधिको नकारात्मक असर हुँदैन भन्दैनन् र भन्न मिल्दैन पनि । औषधि बिक्रेताले भन्न सक्छन् । किनभने उसको लागि त्यो व्यापार न हो ।

सत्य के हो भने, आयुर्वेदिक औषधि जडीबुटीलाई प्राकृतिक विधिबाट तयार पारिएको हुन्छ । यसमा अन्य रसायन मिश्रण गरिएको हुँदैन । अतिरिक्त रंग, स्वाद र सुगन्ध मिसाइएको हुँदैन । त्यसैले तुलनात्मक रुपमा यसको नकारात्मक असर कम हुन्छ ।

आफुखुसी खान हुन्न

आयुर्वेदिक औषधि हो, जडिबुटी हो खाँदा केही नराम्रो हुँदैन भन्ने आम बुझाई पाइन्छ । तर, कुनैपनि आयुर्वेदिक औषधि प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु जरुरी छ ।

किनभने मान्छेको शारीरिक अवस्था, उचाई, तौल अनुसार मात्रा मिलाएर कुनैपनि औषधि खानुपर्ने हुन्छ । यसरी सही ढंगले, सही मात्रामा खाइयो भने मात्र त्यसले प्रभावकारी काम गर्छ ।

सामान्य भाषामा यसलाई कसरी बुझ्नुपर्छ भने शरीरलाई फाइदा गर्ने चिज पनि कति खाने भन्ने हुन्छ । भात त शरीरको लागि अनिवार्य हो । तर, भात जतिपनि खाने, जतिबेला पनि खाने होइन । त्यसको मात्रा, तरिका, समय छ । यसैगरी आयुर्वेदिक औषधिको पनि मात्रा र विधि हुन्छ ।

कुनैपनि प्रभाव दिने वस्तुको दुष्प्रभाव पनि हुन्छ । यो कुरा त्यसको प्रयोग विधिमा भर पर्छ ।

जथभावी किन्नु हुन्न

अहिले बजारमा आयुर्वेदिक औषधि छ्यापछ्याप्ती भेटिन्छन् । कसैले भोक लाग्ने औषधि खोजिरहेका हुन्छन्, कसैले दुखाई कम गर्ने । कसैले रगत शुद्धिकरण गर्ने त कसैले मिगौला बलियो बनाउने । तर, यी औषधिहरु आँखा चिम्लेर खरिद गर्ने, प्रयोग गर्ने गल्ती नगरौं । किनभने आफखुसी यसरी औषधि किनेर प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

कुनैपनि औषधि प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनैपर्छ । चिकित्सक पनि रजिस्टर चिकित्सक हो वा होइन टुंगो गर्नुपर्छ । आफुले खरिद गर्न लागिएको आयुर्वेदिक औषधि कस्तो हो ? दर्ता छ वा छैन ? लेबलिङ हेर्नुपर्छ । कतिपय आयुर्वेदिक औषधि नेपालमा दर्ता भएका हुँदैनन् । भारत लगायत अन्य देशबाट चोर बाटोबाट ल्याइएका हुन्छन् । त्यस्ता औषधिले कुनै साइड इफेक्ट गरेमा त्यसको जवाफदेही वा जिम्मेवार कोही हुँदैनन् ।

त्यसैले नेपालमा औषधि व्यवस्था विभागमा दर्ता भएको  औषधि मात्र प्रयोग गर्नुपर्छ ।

स्वास्थ्य परीक्षण नगरी आफैँले अनुमानको आधारमा, अर्को व्यक्तिलाई यो औषधिले फाइदा भयो मलाई पनि फाइदा हुन्छ होला साइड इफेक्ट गर्दैन होला  भनेर  औषधि पसलमा गएर औषधि मागेर खान हुँदैन ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech