सम्भव छ नसा च्यापिने समस्याको प्राकृतिक उपचार

    • डा. दिनेश राई / योग तथा प्राकृतिक चिकित्सक

  • १९ मंसिर २०८०, मंगलवार

नसा च्यापिने समस्या संसारमै प्रमुख समस्यामध्ये एक हो। नसा च्यापिने भन्नासाथ गर्दन र कम्मरसँग सम्बन्धित हुन्छ। कम्मर धेरै चलायमान हुने भएकाले यसमा असर पर्छ। यसका विभिन्न कारण हुन्छन्। दैनिक गतिविधि, संक्रमण, हड्डी सर्ने लगायत कारण यस्तो हुन्छ।

यस्ता समस्याको प्राकृतिक तरिकाले कसरी उपचार गर्ने भन्ने हुन्छ। यसका विभिन्न तरिका छन्। यसमा स्पाइनल बाथ, स्पाइनल स्प्रे, मालिस लगायत उपचार पद्धति प्रयोग हुन्छ।प्राकृतिक चिकित्सा र योग व्यायाममार्फत समेत उपचार गराइन्छ। माटोको लेप, माटोको पट्टी लगाएर समेत उपचार गराइन्छ। त्यस्तै दुखाइ कम गर्न अंकुपन्चर अनि थेरापी लगायत उपचार गराइन्छ।

विशेष गरेर औषधि दिने भनेको धेरै दुखाइ भएका बेलामा हो। त्यो भनेको एलोपेथिक पद्धतिबाट गर्ने हो। प्राकृतिक उपचार पद्धतिमा सकेसम्म औषधि खुवाउने भन्ने हुँदैन। दिनचर्या सुधारेर प्राकृतिक पद्धतिबाट उपचार गराइन्छ।एउटा नियमित तालिका बनाएर उपचार गराइयो भने दुई सातादेखि तीन महिनासम्म नसा च्यापिएको ठीक पार्न सकिन्छ।यसका साथै जीवन जिउने कला अनुशासित बनाउनुपर्छ। त्यो भनेको खानपिन र व्यायाम मिलाउने हो।

ढाड दुख्ने समस्याको पनि प्राकृतिक तरिकाले उपचार गर्न सकिन्छ। हुन त ढाड दुख्नुको एउटा प्रमुख कारण नसा च्यापिनु पनि हो। दुखाइ निवारक तेल लगाएर समेत यसको उपचार गर्न सकिन्छ। मेटासिस भएबाहेकको समस्यामा प्राकृतिक चिकित्साबाट उपचार गर्न सकिन्छ।मानसिक समस्याको उपचारमा प्राकृतिक चिकित्सा पद्धति सबैभन्दा लाभदायक मानिन्छ। यो समस्या धेरै बढ्दै गएको छ। बच्चादेखि सबै उमेर समूहलाई मानसिक समस्या देखिन थालेको छ।

सुरूआती चरणमा प्राकृतिक चिकित्सा पद्धति अपनाएको खण्डमा मानसिक समस्या पूर्ण रूपमा ठीक पार्न सकिन्छ।मानसिक समस्या भनेको मन र मस्तिस्कको कुरा हो। त्यसका लागि सबभन्दा पहिला मन ठीक पार्नुपर्छ। प्याथोलोजिकल, हर्मोनल लगायत कारणले हो भने त्यही अनुसारको उपचार गर्नुपर्छ।

अहिले जीवनशैली, तनाव, खानपान नै मानसिक समस्याको कारण बनेका छन्। यसका लागि हाम्रो भान्सा कसरी सुधार्ने भन्ने हुन्छ। त्यस्तै हामीलाई खुसी बनाउने, सक्रिय बनाउने हर्मोनहरू उत्पादन गर्ने तरिका सिकाइन्छ। इन्डोफिन, अक्सिटोसिन, डोपामिन लगायत सकारात्मक हर्मोन उत्पादन गर्ने उपचार पद्धति सिकाइन्छ। विशेष गरी रिस, राग, मोह, इर्ष्या, सामाजिक, आर्थिक समस्याहरू टक्सिन बनेर बसेका हुन्छ। यसको उपचार प्राकृतिक तरिकाले सम्भव छ।

मानसिक समस्याको अवस्था हेरेर हामीले उपचार गर्छौं। त्यसका लागि हामीले अन्य उपचार र काउन्सिलिङ समेत गराउँछौं। मानसिक रोगीको अवस्था हेरेर प्राकृतिक चिकित्सा प्रमुख या वैकल्पिक उपचार पद्धति बन्न सक्छ। हामीले उपचारको एउटा प्रोटोकल बनाउँछौं। बिहानदेखि बेलुकासम्म कसरी आफूलाई नियन्त्रण गर्ने भनेर सिकाउँछौं। बिरामीको अवस्था हेरेर एक सातादेखि एक महिनासम्मको उपचार गराउँछौं।

मोटोपन आफैंमा एउटा ठूलो समस्या भइरहेको छ। प्राकृतिक चिकित्सा भनेकै जीवनशैलीसँग सम्बन्धित छ। मोटोपन जीवनशैलीसँग जोडिने भएकाले प्राकृतिक चिकित्सा पद्धतिबाट सहज र सरल तरिकाले समाधान गर्न सकिन्छ। प्राकृतिक चिकित्सा पद्धतिले इमर्जेन्सी र अपरेसन बाहेकका सेवा दिन सक्छ। यसले रोगको नजिक जाँदैछ भने रोक्न सहयोग गर्छ। त्यस्तै रोगको उपचार र रोकथाम लगायत सेवा दिन सक्छ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech