निःसन्तानमा उपचार विधि

महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।


    • डा. श्वेता सिंह/ निःसन्तान विशेषज्ञ

  • ११ मंसिर २०८०, सोमबार

महिलाको जीवनमा आमा बन्ने कुरालाई सबैभन्दा ठूलो सुख मानिन्छ । तर, सबैलाई यस्तो सन्तान सुख प्राप्त नहुन सक्छ । आधुनिक जीवनशैली र खानपानका कारण धेरै दम्पतीमा निःसन्तानको समस्या बढेको छ । पछिल्लो समय निःसन्तान विश्वव्यापी स्वास्थ्य समस्या बनेको छ । त्यसले विश्वभरका प्रजनन उमेरका लाखौं मानिसलाई असर पारिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार १७.५ प्रतिशत व्यक्तिमा निःसन्तानको समस्या देखिएको छ । जसअन्तर्गत छ जना व्यक्तिमध्ये एक व्यक्तिले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गरेका छन् ।

(डब्ल्यूएचओ) ले दम्पतीले बाह्र महिना वा सोभन्दा बढी नियमित असुरक्षित यौनसम्पर्कपछि गर्भधारण नहुनुमा निःसन्तान हो भनी परिभाषित गरेको छ ।

हाम्रो समाजमा थुप्रै यस्ता दम्पती छन्, जो सन्तान सुखबाट वञ्चित भएका छन् । आखिर किन महिला सन्तान जन्माउन असक्षम हुन्छन् ? यसका कारण अनेक छन् । पछिल्लो समय चिकित्सा विज्ञानले यो समस्यालाई सहज बनाइदिएको छ । अहिले सन्तान सुख पाउनका लागि अनेकौं विकल्प छन् । यसै विषयमा केन्द्रित रहेर हामीले सन्तान प्राप्तिको विकसित प्रविधिका विषयमा चर्चा गरेका छौं ।

उपचार विधि

सबैभन्दा पहिले दम्पती के कारणले बच्चा जन्माउन असक्षम छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ । कतिपय दम्पतीलाई औषधिको समेत प्रयोग गर्नुपर्दैन । उनीहरूको शारीरिक सम्पर्क राख्ने समय नमिलेको हुनसक्छ । मासिक चक्रअनुसार शारीरिक सम्पर्क गरे गर्भ रहन्छ । यस्तो स्थितिमा डिम्बाशयबाट डिम्ब निस्कने समय मिलेमा गर्भ रहन्छ ।

पुरुषको शुक्रकीटमा केही समस्या देखिएमा दुवैलाई तीन महिनादेखि छ महिनासम्म औषधि खान दिइन्छ । कतिपयले औषधि खाएपछि गर्भधारण गर्न सक्छन् । कोही दम्पती यस्ता हुन्छन्, जसको मासिक चक्रअनुसार शारीरिक सम्पर्क पनि भइरहेको हुन्छ र औषधिको प्रयोग गरेर पनि गर्भधारण भइरहेको हुँदैन । त्यस्तो अवस्थामा दम्पतीको उपचार अवधि, उमेर हेरेर कुन विधि उपयुक्त हुन्छ भन्ने थाहा पाउन सकिन्छ ।

आईयूआई (इन्ट्रा युटेरियन इन्सेमिनेसन) विधि

यसमा महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्ड बढ्ने औषधि दिइन्छ । औषधि दिइसकेपछि नियमित रूपमा दुई दिन बिराएर अल्ट्रासाउन्ड गर्नुपर्छ । यसबाट डिम्बाशयमा भएको फोलिकल्स कत्तिको राम्रोसँग बढिरहेको छ भनेर थाहा पाउन सकिन्छ । डिम्बाशयबाट अण्ड बढेर फुट्ने बेलामा आईयुआईको योजना बनाइन्छ । आईयुआई गर्ने दिन श्रीमान्को शुक्रकीट लिएर ल्याबमा धोई स्वस्थ र गुणस्तरीय शुक्रकीट पाठेघरमा राखिन्छ । त्यहाँ शुक्रकीट र अण्ड निषेचित हुन्छ । त्यही दिन एक घण्टा आराम गरेर घर जान सकिन्छ । यो प्रक्रियालाई आईयूआई भनिन्छ । यो पाँच–दश मिनेटको प्रक्रिया हो । यसमा महिलालाई बेहोस बनाउनुपर्दैन । यो प्रक्रिया पहिलो चरणमा सफल भएन भने निराश हुनुपर्दैन, चार–पाँच पटकसम्म गर्न सकिन्छ । यसबाट बच्चा बस्ने सम्भावना दशदेखि पन्ध्र प्रतिशतसम्म हुन्छ ।

आइभीएफ भनेको साधारण भाषामा टेस्ट ट्युब बेबी भनेर बुझ्न सकिन्छ । पाँचौं पटकसम्म प्रयास गर्दा पनि बच्चा बस्न सकेको छैन भने आईभीएफ विधिमा जानुपर्छ । त्यसैगरी कतिपय महिलाका पाठेघरका दुवै नली बन्द भएका हुनसक्छन् । त्यसैले डिम्बाशयबाट अण्ड पाठेघरको नलीसम्म आउन सक्दैन । यस्तो अवस्थामा महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।

आइभीएफमा महिलाको महिनावारी भएको दोस्रो दिनदेखि दैनिक दशदेखि बाह्र दिनसम्म इन्जेक्सन दिइन्छ । दुई दिनको फरकमा टिभिएस (ट्रान्स भजाइनल स्क्यान) गर्नुपर्ने हुन्छ । इन्जेक्सन लगाएको दश वा बाह्र दिनपछि र डिम्बाशयबाट अण्ड पनि परिपक्व भइसकेपछि अर्को इन्जेक्सन दिइन्छ । यो इन्जेक्सनले अण्डलाई पूर्णरूपमा परिपक्व बनाउँछ । यो प्रक्रियामा महिलालाई बेहोस बनाएर डिम्बाशयमा भएको सबै तरल पदार्थ निकालिन्छ । त्यसमा अण्ड हुन्छ । त्यही दिन श्रीमान्लाई बोलाएर वीर्यको नमुना निकालिन्छ । त्यसपछि ल्याबमा लगेर शुक्रकीट र अण्डलाई निषेचन गरिन्छ । तीन–चार दिनपछि ल्याबमा लगेर बनेको भ्रूणलाई पाठेघरमा राखिन्छ । भ्रूण तयार भएपछि पाठेघरमै हुर्किन्छ ।

आइभीएफका बारेमा जान्नैपर्ने कुरा

यो प्रक्रियाका लागि २० दिनदेखि दुई महिनासम्मको समय लाग्न सक्छ । आइभीएफ गर्दा जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुन्छ । किनभने यसमा तीन वटा सम्म डिम्ब र शुक्रकीट निषेचन गरिएको हुन्छ । जसले आइभीएफको सफल हुने सम्भावना बढी हुन्छ । आमाको अण्ड र बाबुको शुक्रकीट दुवै ल्याबमा स्क्रिनिङ गरिने भएकाले वंशानुगत समस्या भए वा नभएको पहिले नै थाहा पाउन सकिन्छ ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech