कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०८०, मंगलवार

प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम समस्या बन्नुको पछाडि अव्यस्थित जीवनशैली र खानपान नै मुख्य कारण हो । मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा त्यसमा भएको अनावश्यक तत्वलाई हटाएर पिसाबको माध्यमबाट शरीर बाहिर फाल्छ । तर रगतमा शरीरलाई आवश्यक नपर्ने खनिज तत्वको मात्रा अत्यधिक बढ्छ र मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन । ती अनावश्यक तत्व पिसाबबाट बाहिर जान सक्दैन र ढुंगा बनेर बस्छ । जसकारण मिर्गौलामा पत्थरी हुन्छ ।

पत्थरीका कारण

पानी कम पिउनु

पिसाबमा विभिन्न किसिममा खनिज तत्व हुन्छन् । पानी पिएपछि खनिज छानिंदै पिसाबबाट निस्किन्छ जब पिसाबमा पानीको मात्रा कम भई खनिजको मात्रा बढी थिग्रिन्छ । त्यसपछि त्यहाँ ढुंगाको विकार बन्छ । त्यसलाई मिर्गौलामा पत्थरी भएको मानिन्छ ।

जन्मजात समस्या

कसैमा जन्मजात रगतमा समस्या हुन्छ । जसले गर्दा पिसाबमा खनिज मात्रा बढी हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्छ । यस्तोमा पानी धेरै पिएमा पनि ठीक हुँदैन ।

खानपान

पालुंगो साग, रातो मासु, गुलियो परिकार, गेडागुडी, काजु, बदाममा उच्च मात्रामा अक्जोलेट हुन्छ । अक्जोलेट भएका खानेकुरा अत्यधिक खाँदा त्यो पिसाबमा जम्मा भएर ढुंगाको रुप लिन्छ । त्यस्तै, क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, खनिज र बोसो भएको खानेकुरा शरीरलाई आवश्यक भन्दा बढी खाने तर  फाइबरयुक्त खानेकुरा पटक्कै नखाने बानीले पनि मिर्गौलामा पत्थरी हुन सक्छ ।

युरिक एसिड

युरिक एसिड भएकाहरुलाई पनि मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । युरिक एसिडको स्तर बढेमा पिसाबमा खनिज बढी हुन्छ, जसले मिर्गौलामा पत्थरी गराउँछ । त्यस्तै, अध्यधिक मोटोपन पनि मिर्गौला पत्थरीको लागि जिम्मेवार मानिन्छ ।

मदिराले पत्थरी जाने भ्रम

शरीरमा पत्थरी हुँदा मदिरा सेवन गरेमा जान्छ भन्ने गलत भ्रम रहेको पाइन्छ । जस्तोसुकै पेयले ढुंगा बगाउन सक्दैन । यसले तरल पदार्थ बढाइदिन्छ जसले गर्दा पिसाब लाग्ने मात्र हो । यसले ढुंगालाई झन् बढाउँछ ।

लक्षण

मिर्गौलामा बन्ने पत्थरी मूत्रबाहिनी नलीमा आएर अड्किन सक्छ । यस्तोमा कोखा दुख्ने र सो दुखाइ पछाडि पिठ्यूँमा सर्ने हुन सक्छ ।

पत्थरीको आकार सानो भएमा लक्षण नदेखिने र त्यो पिसाब गर्दा आफैं पनि जान सक्छ  । यद्यपि, मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।

कसैलाई सहन नसक्ने गरी कोखा दुखेर पिसाब नै बन्द हुन सक्ने समस्या देखिन सक्छ । पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन् ।

पहिचान तथा उपचार

पिसाब जाँच, भिडियो एक्सरे र सिटिस्क्यानबाट मिर्गौलामा पत्थरी भएको निर्क्योल गरिन्छ । त्यसपछि उपचार प्रक्रिया अघि बढाइन्छ । पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार मिर्गौलाको पत्थरीको उपचार गर्ने थुप्रै तरिका छन् ।

६-७ मिलिमिटरभन्दा सानो ढुंगा भएमा औषधि खाएपछि पिसाबसँगै आफैं बाहिर निस्कन्छ । त्यसबेला शल्यक्रियाको आवश्यकता पर्दैन । तर एक सेन्टिमिटरभन्दा ठूलो ढुंगा भएमा वा अवरोध र दुखाइको कारणले शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । मिर्गौलाको पत्थरीको शल्यक्रियाको लागत उपचारको प्रकारमा निर्भर गर्छ ।

त्यस्तै, अहिले आधुनिक प्रविधिबाट बिना चिरफार दूबीन तथा लेजर प्रविधिबाट पनि पत्थरीलाई निकालिन्छ । उपचार नै नगराई अरुको सल्लाहमा जथाभावी ढुंगा गलाउने भन्दै औषधि खाने गरिन्छ, जुन गलत अभ्यास हो । कुनै पनि औषधिले पत्थरीलाई गलाउन सक्दैन मात्र ढुंगालाई झार्न सक्छ ।

पत्थरी बल्झिने सम्भावना ५० प्रतिशत

पत्थरी एकपटक भइसकेपछि बल्झिने सम्भावना ५० प्रतिशत रहन्छ । जसमध्ये २० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । तर मिर्गौलाको उपचारपछि आफ्नो दैनिक जीवनशैली, आहार, व्यायामका कुरामा परिवर्तन ल्याएमा बल्झिने सम्भावना कम हुन्छ  । साथै, मूत्ररोग विशेषज्ञसँग सल्लाह लिन आवश्यक छ ।

  • ३० श्रावण २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech