क्याथ ल्याब सेवा: अवसर र चुनौतिहरु

    • डा.कृष्ण अधिकारी, बरिष्ठ मुटुरोग विशेषज्ञ

  • २७ श्रावण २०८०, शनिबार

पाँच बर्षदेखि भेरी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा छ । विगत एक वर्षमा भेरी अस्पतालको क्याथ ल्याबबाट दिइएका सेवा यस प्रकार छन् ।
. कोरोनरी एन्जियो ग्राफी – ५२१

. कोरोनरी एन्जियो प्लास्टी – १८६

. अस्थायी पेसमेकर – ४०

. स्थायी पेसमेकर – २१

. पेरिकार्डियोसेन्टेसिस – ८

. रेनलएन्जियोग्राम – १

जम्मा: ७७७

सीमित जनशक्तिबाट सम्पन्न यो कार्य निश्चय नै अभूतपूर्व हो, उदाहरणीय हो, जहाँ सेवा सुविधा न्यून छन् र दिनचर्याको लागि आर्थिक जोहो क्लिनिकको आम्दानीबाट मात्र हुन्छ ।  एन्जियोग्राफीमा एउटा सानो क्याथेटर भनिने पाइप मुटुमा लगेर मुटुको नसामा औषधि पठाएर उक्त नसाहरुको ब्लकेज भए नभएको जाँच गरिन्छ ।

कोरोनरी एन्जियोप्लाष्टीमा ब्लकेज भएको मुटुको नसालाई क्याथेटर विधिबाट बेलुन र स्टेण्ट राखेर खुलाइन्छ । पेसमेकरमा स्थायी वा अस्थायीरुपमा मुटुको चाल कम भएको विरामीको मुटुको चाल ठीक पारिन्छ । पेरिकार्डियोग्राफी सिन्टेसिस चाहिँ मुटुको खोलमा पानी भरिएर पानीले मुटु थिचेको अवस्थामा उक्त पानी निकालेर मुटुलाई काम गर्न सक्ने बनाउने प्रक्रिया हो ।

यसरी भेरी अस्पतालको क्याथ ल्याब एक विशिष्टिकृत सेवाको रुपमा स्थापित भएको छ भन्न पाउनु मेरा लागि सुखद् क्षण नै हो ।
बुटवल पश्चिमको सम्पूर्ण नेपालमा एक्लो यो सेवा पश्चिम नेपालका २४ जिल्लाको जनताका लागि विश्वसनीय र भरोसायोग्य भइरहेको छ । यस बाहेक मित्र राष्ट्र भारतको बहराइचसम्मका विरामीको सफल उपचार पनि यसै सेवाबाट भइरहेको छ ।

आउने दिनमा सेवाको विस्तार गर्ने अवसर हाम्रासामु छन् । सर्जिकल ब्याकअप (कार्डियो थेरासिस सर्जरी) भएमा पिटिएमसी भनिने साँघुरिएको मुटुको भल्भ खोल्ने उपचारको निरन्तरता दिन सकिन्छ । आजको दुनियाँ इमेजिङ्ग गाउडेड एन्जियो प्लाष्टीतिर गइरहेको छ । जसमा रगतको नसाभित्र भिडियो एक्सरे गरेर स्टेण्ट कुन चाहिँ र कति साइजको लगाउने भनेर अरु उचभअष्कभ गर्न सकिन्छ ।

जसले उपचारको गुणस्तरमा भारी वृद्घि गर्न सक्छ । मेडिकल साइन्स नियमित अध्ययन, अध्यापन र सीप हस्तान्तरणमा मात्र जीवित रहन सक्ने भएकोले नयाँ मुटु विशेषज्ञको अध्यापन आजको अवसर र आवश्यकता हो ।

चुनौतिहरु :

चुनौतिहरुलाई दुई भागमा राखेर हेर्नुपर्दछ ।
१) हालका नियमित सेवाका चुनौतिहरु
२) सेवाका स्तरवृद्घिका चुनौतिहरु

नियमित सेवा प्रवाहमा केही चुनौतिहरु छन् । राजधानीसंगको लामो दुरीले यी चुनौतिहरु बढाए पनि एउटा चुस्त र सुझबुझपूर्ण व्यवस्थापनले हालको क्याथ ल्याब हार्डवभरको अभावको चुनौतिको समाधान गर्न सक्छ ।

त्रिभुवन विश्वविद्यालय टिचिङ्ग अस्पतालभित्र छुट्टै व्यवस्थापनसहित मनमोहन कार्डियोथेरासिक सेन्टर सञ्चालन भए जस्तै यहाँ पनि व्यवस्था गर्न सकिएमा भेरी क्याथले ल्याब मनमोहनको क्याथ ल्याबको ढाँचामा आफूलाई उभ्याउन सक्छ भन्ने हाम्रो बुझाई हो । यसो भएमा कार्डियोथोरासिस सर्जरीका साथै थुपै्र स्तरवृद्घिका चुनौतिहरुको समाधान हुन सक्छ ।

भविष्य

भेरी अस्पतालमा क्याथ ल्याबको परिकल्पनादेखि हालसम्म निरन्तर लागिरहेको मुटुरोग विशेषज्ञको रुपमा अरु शक्तिशाली र अझै जनउपयोगी क्याथ ल्याबको आशा गर्नु स्वभाविक हो ।

गौतम बुद्घ हृदयरोग केन्द्र बुटवलको मोडलमा (जहाँ चिकित्सकलाई उच्च सेवा सुविधा दिइएको छ) लैजान सकिए चिकित्सकहरुलाई चौबिसै घण्टा यसको सेवामा लगाउन पाइन्थ्यो । यसबारे कुरा गर्न नसकिने नहुनुपर्ने हो ।

मनमोहन मोडल, जहाँ एउटा छुट्टै व्यवस्थापनले सेवालाई धेरै अगाडि लान सक्छ । अहिलेको अवस्थामा व्यवस्थापनमा सुधार अन्तिम विकल्प हो ।

  • २७ श्रावण २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech