बालबालिकामा देखिने अटिजम के हो ?

    • डा.विष्णु कुमार थापा, बलरोग विशेषज्ञ

  • २३ श्रावण २०८०, मंगलवार

बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ ।

जसले गर्दा बिरामीलाई देखेर, सुनेर तथा अनुभव गरेर बुझ्न गाह्रो हुन्छ । परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ ।

विश्व स्वस्थ्य सङ्गठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एक जनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ । तर नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्याङ्क भेटिँदैन । फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुन्छ ।

अटिजमका सामान्य लक्षण

बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविकरूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, माया गरेको नरुचाउने, निदाउनमा समस्या हुने अटिजमका सामान्य लक्षण हुन् ।

अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले साङ्केतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरुमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन।

अटिजम हुन नदिन के गर्ने ?

आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ । उनीहरुलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ । किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ ।

अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो बेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ ।

अटिजमको उपचार

अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो। अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।

यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरु रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ।

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech