शिशुलाई मात्र होइन आमाका लागि पनि उत्तिकै फाइदा छ स्तनपान गराउनु

    • डा. कल्पना थापा/ बरिस्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ

  • १७ श्रावण २०८०, बुधबार

हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा स्तनपान दिवस मनाइन्छ। यस वर्ष ‘स्तनपान गरौँ, काम गरौँ’ नारा तय गरिएको छ। यो नाराले कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकतालाई अर्थाएका छ। विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ।

स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो। दुई वर्षसम्म आमाको दूध बच्चालाई खुवाउनु पर्छ । ६ महिनासम्म त पानीपनि नखुवाएर अनिवार्य रुपमा आमाको मात्र दूध खुवाउनुपर्छ । ६ महिना मुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दूधबाट प्राप्त हुने हुँदा बच्चालाई पानी समेत खुवाउनु पर्दैन। बच्चालाई ६ महिना कटेपछि मात्र सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता अतिरिक्त खाना खुवाउँदै, बच्चा दुई वर्ष नपुगुन्जेलसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ।

आमाको दूध शिशुको लागि सबैभन्दा पोसिलो र राम्रो आहार हो। स्तनपान गराउनाले आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। सुत्केरी भएपछि जति छिटो स्तनपान गराउन सक्यो त्यति नै छिटो पाठेघरबाट साल बाहिर निस्कन सहयोग गर्छ। त्यसैगरी स्तनपान गराउनाले बच्चा जन्माएपछि हुने रक्तश्रावबाट समेत जोगाउँछ। स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरा समेत कम हुने गर्छ। बच्चा जन्मेको ६ महिनासम्म नियमित रुपमा स्तनपान गराउँदा तत्कालै गर्भ बस्नबाट समेत जोगाउँछ।

महिलामा सुत्केरी भएपछि देखिने मानसिक समस्या डिप्रेसनलाई समेत स्तनपानले जोगाउँछ। बच्चा जन्मेपछि आउने पहिलो बाक्लो र पहेंलो बिगौती दूधले बच्चामा खोपको काम गर्छ। बिगौती दूधमा प्रचुर मात्रामा हुने भिटामिन ए र रोग प्रतिरोधात्मक तत्वले बच्चालाई स्वासप्रश्वास सम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ।

स्तनपानले आमा र बच्चाको आत्मीयतालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ। आर्थिक र स्वास्थ्यको हिसाबले हेर्दा पनि आमाको दूध फर्मुला मिल्क र पाउडर दूधभन्दा सस्तो र राम्रो छ। आमाको दूधमा बच्चाको शारीरिक, मानसिक र बौद्धिक विकासको लागि आवश्यक सम्पूर्ण तत्व हुन्छ। स्तानपान वृद्धिदर बढाउनका लागि यो सातदिनको समयलाई सचेतिकरण अभियानकारुपमा लैजानु पर्छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको समेत महत्त्वपूर्ण भूमिका छ।

यसका लागि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनको लागि उत्साहित गराउने गरी चेतनामुलक कार्यक्रम गर्नु पर्छ । आमाको दूध बच्चाको लागि अमृत समान भए तापनि हिजोआज स्तनपान गराउने आमाको संख्या घट्दो छ। आजका बच्चा भोलिका देश हाँक्ने जनशक्ति हुन्। उनीहरुको सुस्वास्थ्यको लागि सम्बन्धित निकायको आजैबाट ध्यान दिन जरुरी छ।

(बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.थापा नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा कार्यरत हुनुहुन्छ)

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech