पिनास कस्तो रोग हो ?

    • डा. ओमप्रकाश यादव/नाक कान तथा घाँटीरोग विशेषज्ञ

  • २५ असार २०८०, सोमबार

बदलिंदो मौसमका कारण कहिलेकाहीं रुघाखोकी लाग्नु सामान्य हो । जुन औषधि र खानपानमा ध्यान दिए एक-दुई दिनमा निको हुन्छ । तर लगातार रुघाखोकी लाग्यो भने पिनास पनि हुन सक्छ । यो एउटा जटिल समस्या हो । जसको समयमा उपचार नभए ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले छिटो पहिचान गर्न र सही उपचारको लागि पिनासबारे बुझ्न आवश्यक छ ।

पिनास कस्तो रोग हो ?

टाउको र अनुहारको हाडहरुमा विभिन्न साइनस (हावाले भरिएको खाली भाग) हुन्छन् । साइनस नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । साइनसभित्र हावा भरिएपछि सामान्य व्यक्तिले हल्का अनुभव गर्छन् । तर  कुनैकारणवश सिंगान आउने बाटोमा अवरोध आयो भने साइन्समा भरिन्छ ।

यसको मतलब साइनसको निकास माध्यममा कुनै कारण अवरुद्ध भई नाकबाट निस्कने सिंगानजस्ता तरल पदार्थ निस्कन नपाई त्यही रहेर ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनु पिनास हो । पिनासलाई अंग्रेजीमा ‘साइनसाइटिस’ भनिन्छ । पिनास भएमा सिंगान बाहिर निस्कन पाउँदैन । र, विस्तारै त्यसले नाकभित्र नै संक्रमण गराउँछ ।

कारण

यसको मुख्य नाकभित्र मासु पलाउनु, नाकको हड्डी बाङ्गो हुनु, प्रतिरोध क्षमता कमजोर हुनु, अत्यधिक चिसोले संक्रमण गराउनु पिनासका मुख्य कारण हुन् । त्यस्तै एलर्जी, दम, नाक वा साइनसमा संरचनात्मक अवरोध भएका व्यक्तिहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई यसको उच्च जोखिम हुन्छ ।

लक्षण

कुनै पनि व्यक्तिलाई लगातार वा पटक-पटक रुघाखोकी लागेको तीन महिनापछि पिनासमा परिणत हुन्छ । सिंगान जम्मा हुने कारण नाक बन्द भइराख्ने, नाकबाट रगत आउने, टाउको दुख्ने, आँखा वरपर दुख्ने, गन्ध नाउने, निधारको भाग दुख्ने हुन सक्छ  । कसैलाई ज्वरो आउने, पहेंलो खकार आउने, सुँघ्ने क्षमता हराउने र श्वास गन्हाउने र नाकबाट बाक्लो लेदो गन्हाउने सिंगान पनि आउन सक्छ । यी लक्षण व्यक्तिअनुसार कसैमा बढी कसैमा कम देखिन्छ ।

परीक्षण

लक्षणअनुसार यसको परीक्षण गरिन्छ । पिनासको शंका लागेपछि नाकको इन्डोस्कोपी र  नाक, कान तथा घाँटीको सिटिस्क्यानबाट नाकभित्र संक्रमण, हड्डी बांगिएको, मासु पलाएको छ कि छैन भनेर हेरिन्छ । यदि पिनास रहेछ भने त्यही अनुसारको उपचार गरिन्छ ।

उपचार

पिनासमा प्राय: नाकमा मासु पलाएको र नपलाएको अवस्था हुन्छ । यदि मासु पलाएको छैन भने एन्टिबायोटिक औषधि, नाक खुलाउने औषधि खाँदा पनि ठीक हुन्छ । तर मासु पलाएको अवस्था हो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । बाहिरको भाग नकाटी भित्रबाट नै एन्डोस्कोपिक साइनस शल्यक्रिया गरेर पलाएको मासुलाई सन्तुलनमा ल्याउन सकिन्छ ।

बाङ्गो हड्डी भए सोझ्याउने लगायत उपचार गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि पनि ६ महिनासम्म स्प्रेको माध्यमबाट नाक सफा गर्नुपर्छ । यसले पिनास बल्झिन दिंदैन । समयमै पहिचान तथा उपचार र त्यसपछि चिकित्सकको निगरानीमा ६ महिनासम्म बसेमा पिनास ठीक हुन्छ ।

 ‘पिनास बिग्रिदा पनि सक्छ’

उपचारमा ढिलाइ हुँदा पिनास बिग्रिन सक्छ । पिनास बिग्रिएमा नाकमा पलाएको मासु आँखामा पुगेर दृष्टिमा समस्या गराउने, पिप जम्ने, मस्तिष्कमा पुग्ने,  आँखा, नाक र मुखभित्रका केही हड्डीलाई दखल दिन सक्ने, आँखाबाट पिनास संक्रमण दिमागमा समेत पुग्न सक्छ ।

प्राकृतिकबाट पनि निको हुन्छ पिनास ?

एलोप्याथिकबाट उपचार गर्ने वा प्राकृतिक तरिकाबाट उपचार गराउने त्यो व्यक्तिको रोजाइ हो । त्यो व्यक्तिको विश्वासको कुरा पनि हो । एलोप्याथिक उपचारमा पिनास नाकभित्र हुने जटिल समस्या र यसबारे विभिन्न अध्ययन, अनुसन्धान र अनुभवको आधारमा पत्ता लगाइएको उपचार विधि छ । जसकारण छिटो पहिचान तथा उपचारको लागि एलोप्याथिकबाट उपचार भरपर्दो हुन्छ ।

कसरी जोगिने ?

यसबाट बच्न रुघाखोकी लाग्न नदिने, प्रतिरोध क्षमता वृद्धि गराउने, रुघाखोकी पटक-पटक लागिरहेमा खानपानमा ध्यान दिने, चिसो मौसमबाट जोगिने र जीवाणुको संक्रमण हुन नदिने कुरामा ध्यान दिनुपर्छ ।

त्यस्तै पिनास भइराख्ने व्यक्तिले एलर्जी नियन्त्रणमा राख्ने, रुघा लामो समयसम्म निको नभए चिकित्सकको परामर्श लिनुपर्छ ।  धुम्रपान गर्ने बानी पनि पिनास गराउने एक कारण हो । त्यसैले यसको सेवन गर्नु हुँदैन ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech