सर्पदंश विशेषज्ञ डा.आचार्यले दिए नेपाली सेनालाई सर्पदंश बारे प्रशिक्षण

    • स्वास्थ्य पेज

  • २० असार २०८०, बुधबार

कोहलपुर: बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेनालाई सर्पदंश सम्बन्धी प्रशिक्षण दिइएको छ । श्री अर्जुनबाण गण ओभरी व्यारेकमा आज सर्पदंश सम्बन्धि उनीहरुलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना, सर्पदंश उपचार केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मीलाई ओभरी व्यारेकमा बोलाएर प्रशिक्षण दिइएको गणका गणपति एवम् प्रमुख सेनानी  अशोक खड्काले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एवम् सर्पदंश विशेषज्ञ डा.कृष्ण प्रसाद आचार्यले सर्पदंशको जोखिम र उपचारका सवालमा जानकारी गराउनुभएको थियो ।

बर्खायाम सुरु भएसँगै सर्पदंशको जोखिम बढि हुने गर्छ । बैशाख महिनादेखि असोज महिनासम्म सर्पको जोखिम बढी हुने गर्छ । त्यसमा पनि साउन महिनामा सर्प बढि चलाएमान हुने भएकाले सर्पले टोक्ने जोखिम बढि हुने विज्ञहरु बताउँछन् ।

बाँकेसहित तराई मधेसका जिल्लामा सर्पदंशका कारण थुप्रै मानिसहरु पीडित हुने गरेका छन् । नेपालमा करिब ९० प्रजातीका सर्प रहेका छन् । ती मध्ये २० प्रतिशत मात्रै बिषालु हुने गरेको सर्पदंश रोग विशेषज्ञ डा.आचार्यले जानकारी दिनुभयो । खासगरी यो क्षेत्रमा गोमन र करेत प्रजातीका बिषालु सर्पको जोखिम छ ।

ती सर्पले टोकेपनि समयमै उपचार पाए बिरामीको ज्यान जोगिने डा. आचार्य बताउनुहुन्छ ।  घर वरपरको वातावरण सफा राख्ने, झाडी भए हटाउने, घर वरपर दुलो (प्वाल) देखिए पुर्ने, सके सम्म भुइँमा नसुत्ने, सुतेपनि झुल लाएरमात्रै सुत्ने गर्‍यो भने सर्पदंशको जोखिम कम गर्न सकिने डा. आचार्यले वताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु, राप्तीसोनारी-८ का अध्यक्ष शालिकराम डाँगी, रेडक्रसका ओभरी शाखा सभापति अम्मर खड्का लगायतको उपस्थिति रहेको थियो ।

सर्पदंश उपचार केन्द्रमा कति लिए सेवा ?
राप्ती सोनारी गाउँपालिका-८ ओभरीमा तीन वर्ष अघि सर्पदंश उपचार केन्द्र स्थापन गरिएको छ । बि.स. २०७७ सालमा स्थापना भएको यो केन्द्रले अहिलेसम्म बिषालु सर्पले टोकेका ८१ जनाको उपचार गरिएको छ ।

बि.स २०७७ सालमा ३ जना, ०७८ मा ३४, ०७९ मा ३५ जना र ०८० सालको हालसम्म ९ जना बिरामीले यो केन्द्रबाट सेवा लिएको तथ्यांक छ ।  ती मध्ये तीन जना बिरामी गोपन सर्पको डसाईबाट मृत्युको मुखबाट जोगिएका थिए ।

केन्द्रको निगरानीमा ती तीन जना बिरामीलाई भेरी अस्पतालमा पुर्‍याइएकाले ज्यान जोगिएको थियो ।  यो अवधिमा ४३ जना बिच्छीको टोकाइबाट बिरामी भएकाले उपचार पाएका छन् ।

  • २० असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech