के हो ओभरियन सिस्ट ? रोकथाम तथा बच्ने उपाय

    • डा. कीर्तिपाल सुवेदी/स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

  • १४ जेष्ठ २०८०, आईतवार

पाठेघरको डिम्बाशयमा सिस्ट आउनु र जानु सामान्य मानिन्छ  । तर कहिलेकाहीं यो समस्याले गम्भीर रुप लिन सक्छ । सिस्ट असामान्य रुपमा बढ्दै गयो भने क्यान्सरको कारण पनि बन्न सक्छ ।

सिस्ट देखिने ठोस कारण पत्ता लागिनसकेको भए पनि हार्मोनको असन्तुलन, मोटोपन र अनियमित महिनावारी ओभेरियन सिस्टको जोखिम बढाउन जिम्मेवार मानिन्छ ।

के हो ओभरियन सिस्ट ?

महिलाको पाठेघरमा हुने दुईवटा नलीलाई डिम्बाशय भनिन्छ । डिम्बाशयमा कुनै गाँठो बन्छ भने त्यसलाई सिस्ट भनिन्छ । महिनावारी चक्रको बीचमा सिस्ट आउने र आफैं हराउन पनि सक्छ । तर कतिपय अवस्थामा भने यो जटिल बन्न सक्छ । यो मासुको डल्लो, पानीको फोका वा गाँठोको रुपमा हुन्छ । सिस्टका प्रकार धेरै हुन्छन् । तीमध्ये महिलामा धेरै देखिएका सिस्ट भने चार प्रकारका छन् ।

फंसनल सिस्ट

फंसनल सिस्ट शरीरमा हुने हार्मोनसँग सम्बन्धित हुन्छ । हार्मोन बढ्दा सिस्ट बढ्छ भने हार्मोनको मात्रा घट्दा सिस्टको आकार पनि घट्छ । यो सिस्ट सबै महिलामा कुनै न कुनै समयमा देखा पर्न सक्छ । त्यसैले यसलाई सामान्य मानिन्छ । यसमा उपचारको जरुरी हुँदैन ।

ओभुलेटरी सिस्ट

हरेक महिनामा हुने महिनावारी चक्रमा महिनाको बीचमा अण्डा उत्पादन हुन्छन् । जसलाई डिम्ब भनिन्छ । सो अण्डा विकसित हुँदै सिस्ट बन्ने गर्छ । सो सिस्ट २० देखि २५ मिलिमिटरसम्म बन्न सक्छ । अनि बाहिर निस्कन्छ । केही महिलामा भने त्यो अण्डा ननिस्किएर भित्रै सिस्ट बन्न सक्छ, जसकारण दुखाइ पनि हुन्छ ।

महिनावारी हुँदा ५-६ सेन्टिमिटरको सिस्ट आउने गर्छ । जुन दुखाइ नहुने खालको हुन्छ, भिडियो एक्स-रे गर्दा देखिन सक्छ । यदि देखिएमा पनि यसको खासै उपचारको जरुरी हुँदैन । ओभुलेटरी सिस्ट पनि एक प्रकारको ओभुलेटरी सिस्ट नै हो ।

बिनाइङ्ग सिस्ट

पाठेघरमा धेरै खालका बिनाइङ्ग सिस्ट वा ट्युमर हुन सक्छन् । यो सिस्ट केही महिलामा देखिन सक्छ । यो सिस्टमा पानी फोका भएको वा रगत जम्मा भएको वा बोसोको टुक्राहरुले भरिएको हुन सक्छ ।

उपचार

यदि आकार बढेको छैन र कुनै किसिमको लक्षण देखिएको छैन भने उपचार नगर्दा पनि हुन्छ । किनकि यसले खासै असर गर्दैन ।

यदि आकार बढिरहेको छ वा दुखिरहेको छ भने यसको भिडियो एक्सरे, सिटी स्क्यानमार्फत हेर्न सकिन्छ । सामान्यतया यो सिस्टमा क्यान्सर हुने सम्भावना कम हुन्छ । यदि आठ सेन्टिमिटरभन्दा बढी छ र औषधि खाँदा पनि लामो समयसम्म रहिरहन्छ भने शल्यक्रिया गरेर निकाल्न सकिन्छ ।

मालीगनेन्ट सिस्ट

पाठेघरमा हुने सिस्टमध्ये सबैभन्दा जोखिमपूर्ण मालीगेन्ट सिस्टलाई मानिन्छ । यो सिस्ट देखिएमा क्यान्सर हुने सम्भावना हुन्छ । मुख्यतया उमेर ४० वर्ष कटेको महिलामा यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने सम्भावना प्रबल रहन्छ । तर कसैमा त्यसभन्दा कम उमेरमा पनि देखिन सक्छ ।

सुरुमा कुनै लक्षण नदेखाउने हुँदा यस सिस्टलाई साइलेन्ट किलर पनि भनिन्छ । यो सिस्ट भएपछि क्यान्सर भएमा लक्षण ढिला देखाउँछ । खानामा अरुचि, दिसा गर्ने व्यवहारमा परिवर्तन हुने, पेट डम्म फुल्ने र भोक नलाग्ने यसका लक्षण हुन् । यस्तोमा सामान्य ग्यास्ट्रिक सम्झेर जथाभावी औषधि किनेर खाएको देखिन्छ । जसले क्यान्सर गराइसकेको हुन सक्छ ।

पहिचान तथा उपचार

माथि उल्लेखित लक्षण देखिएमा भिडियो एक्सरे गरिन्छ । एक्सरे गर्दा आठ सेन्टिमिटरभन्दा ठूलो भएमा अल्ट्रासाउण्ड गर्दा क्यान्सरको सम्भावना भएको शंकास्पद भनेर रिपोर्ट आउँछ । अझ स्पष्ट रुपमा बुझ्न हार्मोनको जाँच गरिन्छ । एमआरआई, सिटिस्क्यान, हार्मोन जाँच सबैबाट क्यान्सरको संकेथ गरेमा त्यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यदि क्यान्सर पुष्टि नहुने खण्डमा सिस्ट निकालेर त्यसअनुसारको उपचार गरिन्छ । उक्त निकालिएको सिस्टको मासु जाँच गराउँदा क्यान्सर पुष्टि भएमा अवस्था हेरेर उपचार हुन्छ । तर सिस्टको उपचारको लागि पाठेघर नै निकाल्ने अवस्था भने हुँदैन ।

रोकथाम तथा बच्ने उपाय

विभिन्न अध्ययनले गर्भनिरोधकको लागि पिल्स खानेहरुमा सिस्ट हुने सम्भावना कम देखाएको छ । परिवारमा कसैलाई पहिला अण्डाशयको क्यान्सर वा स्तन क्यान्सर भएमा नियमित रुपमा भिडियो एक्सरे गर्दै बेलाबखतमा जाँच गरिएमा पनि क्यान्सरबाट जोगिन सकिन्छ ।

४० वर्ष उमेर काटेपछि वर्षमा एकपटक पाठेघरको जाँच गरे राम्रो हुन्छ । पेट डम्म फुलेको अवस्थामा औषधि पसलबाट जथाभावी औषधि खानुभन्दा स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ ।

वजन बढ्दा क्यान्सर हुने जोखिम हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न खानपिनमा नियन्त्रण गर्नेदेखि शारीरिक व्यायाम सकिन्छ ।

(स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुवेदी नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत हुनुहुन्छ)

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech