माइग्रेन कुन अवस्थामा हुन्छ घातक ?

    • डा.राजेश कर्ण /न्युरोलोजिष्ट

  • २१ बैशाख २०८०, बिहीबार

सामान्यतया आफ्नो जीवनकालमा टाउको दुखाईको अनुभूती नगरेको मानिस कमै हुन्छन् । रुघा, खोकी, ज्वरो आएर, शरीरमा पानीको मात्रामा कमी भएर ,बढी तनाव भएर पनि कहिलेकाही टाउको दुख्ने गर्छ ।

टाउको दुखाई मानव स्वास्थ्यका लागि एउटा लक्षण मात्रै हो जुन सामान्यदेखी घातक समेत हुन सक्छ । करिब ९० प्रतिशत बिरामीहरुमा माइग्रेन,टेन्सन टाइप हेडेक तथा क्लसटर हेडेक आदिको कारणले टाउको दुखेको हुन्छ । त्यसमा पनि यदि टाउकोको कुनै एक भागमा दुखाई सुरु भई अन्य भागमा पनि सरेर दुख्छ साथै वाकवाक हुन्छ भने त्यो माइग्रेनको लक्षण हो । यस्ता दुखाईहरु पटक पटक दोहोरिई दैनिक जीवनलाई नै कष्टकर बनाई रहेका हुन्छन् । यस्तो टाउको दुखाई करिब ४ घन्टादेखि ७२ घन्टासम्म रहन्छ । त्यस्तै माइग्रेनको टाउको दुखाई सकिएको करिब २४ घन्टासम्म बिरामीले थकान तथा मन्द टाउको दुखाईको महसुस गर्छन् ।

माइग्रेनका रोगीहरुमा देखिन्छन् यस्ता समस्या 

माइग्रेन टाउको दुखाईमा टाउकोको एक भागमा एकदमै पिडादायी दुखाई हुन्छ । टाउको दुखाईसँगै टाउको दुखेकै साइडका आँखाबाट आँसु बग्ने तथा नाकबाट सिँगान आउने गर्छ । जुन लामो समयसम्म पनि भइरह्यो भने कलस्टर हेडेकको लक्षण पनि हो । टेन्सन टाइप हेडेक सबैभन्दा सामान्य खालको हेडेक हो । जुनमा सामान्यतया हल्का देखी मध्यम खालको दुखाई हुन्छ ।

  • टाउको दुखाईका करिब १० प्रतिशत बिरामीहरुमा ज्वरो आउने समस्या पनि हुन सक्छ ।
  • टाउको दुखाईसँगै तौल घट्दै जानु,
  • पटक पटक टाउको दुखी रहनु,
  • रिंगटा लाग्नु,
  • शरीरको एक वा पुरै भागमा कमजोरी आउनु,
  • पोल्नु जस्ता लक्षणहरु पनि देखा पर्न सक्छ ।

यसका कारण मस्तिष्कघात, मेनेन्जाइटिस्, ईन्सेफ्लाइटिस्, ब्रेन ट्युबर आदि जस्ता घातक रोगहरुको संकेत गर्छ । यस्ता रोगहरुले बिरामीलाई दीर्घकालीन रुपमा असर गर्नुका साथै ज्यानै समेत जान सक्छ ।

  • २१ बैशाख २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech