लामखुट्टे भगाउन बालिने धूप र लिक्विडले फोक्सोलाई असर गर्छ ?

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०८०, शुक्रबार

गर्मी मौसममा लामखुट्टे नियन्त्रण ठूलै चुनौती बन्छ । लामखुट्टेको आवाजले निद्रा नै बिथोलिदिन्छ भने यसले टोकेमा विभिन्न रोगको जोखिम हुन्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगुजस्ता रोग लाग्छन् ।

लामखुट्टेबाट बच्न झुलको प्रयोग उत्तम भए पनि यसको विकल्पमा आमी क्वाइल, धुप, मलम, स्पे्र पनि प्रयोग गर्छौं । तर यी सामग्री स्वास्थ्यका लागि हानिकारक हुन्छन् भन्नेमा धेरैले हेक्का राखेका हुँदैनन् ।

मस्क्वीटो क्वाइलमा पायरेथ्रिन पेस्तीकसाइड (कीरा मार्न प्रयोग गरिने औषधि) हुन्छ, जसले गर्दा फोक्सोमा हानि पुर्‍याउँछ ।

लामखुट्टे भगाउन प्रयोग गरिने धुप, क्वाइलबाट धुवाँ निस्किन्छ । कोठाभित्र यसलाई बाल्दा भेन्टिलेटर तथा हावा जाने ठाउँ भएन भने धुवाँ शरीरभित्र प्रवेश गर्छ । जसले फोक्सोलाई संक्रमणबाट बचाउने म्युकोसिलरियालाई असर गर्छ । जसकारण धुवाँमा भएको तत्व, ग्यास र कार्बनको कण गएर फोक्सोमा टाँसिन्छ ।

लामो समय लामखुट्टे भगाउने धुवा वा क्वाइल बाल्ने व्यक्तिलाई सीओपीडी दम हुने सम्भावना धेरै हुन्छ । लामो समयसम्म यस्तो धुवाँको सम्पर्कमा रहँदा फोक्सोको क्यान्सर समेत हुन सक्छ ।

त्यस्तै स्प्रे र लिक्विडहरूमा कीटनाशक पदार्थ प्रयोग हुन्छ । अझ कुनै त पेट्रोलियम पदार्थ मिश्रण गरिएका समेत हुन्छन् । यसले स्वास्थ्यमा निक्कै समस्या ल्याउन सक्छ ।

क्वाइल र लिक्विडमा कुन बढी हानिकारक ?

लामखुट्टे भगाउन प्रयोग गरिने दुवै कुरा हानिकारक हुन्छन् । तर पनि तुलनात्मक रुपमा क्वाइलभन्दा लिक्विड कम हानिकारक हुन्छ ।

भारतमा १० वर्षअघि लामखुट्टे भगाउने धूप र लिक्विडको बारेमा भएको अध्ययनमा धूपले बढी असर पुर्‍याएको देखिएको थियो ।

कसरी प्रयोग गर्ने ?

सकेसम्म त लामखुट्टे भगाउन अरु नै सामग्रीको प्रयोग गर्नु राम्रो हो । तर अरु सामग्री प्रयो गर्ने अवस्था सहज नभएमा धुप, लिक्विड प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर यी साम्रगीको प्रयो गर्दा धुवाँ जाने ठाउँ भने राख्नैपर्छ ।

ढोका वा झ्याल पूरै बन्द गरेर बाल्नुहुँदैन भने रातभरि पनि यी साम्रगी प्रयोग गर्नुहुँदैन । साथै टाउको नजिक धूप वा लिक्विड कहिल्यै बाल्नुहुँदैन ।

लामखुट्टे भगाउन प्रयोग गरिने मलम सुत्नुअगाडि मात्र लगाउने र लगाइसकेपछि मुखमा हात लानुहुँदैन ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech